बढ्यो तरकारीको मूल्य



 

नेपाल समाचारपत्र
काठमाडौं
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वर्षा र बाढीका कारण तरकारी तथा फलफूलको मूल्य बढ्न सक्ने जनाएको छ। समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले बाढीका कारण ढुवानीमा समस्या भएको र उत्पादनमा पनि क्षति भएका कारण तरकारीको मूल्य बढ्न सक्ने बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै पौडेलले भन्नुभयो – ‘अहिले ढुवानीमा मात्र नभई उत्पादनमा पनि समस्या छ। तराईका जिल्लाहरूमा बाढीका कारण तरकारी उत्पादन क्षेत्रहरूमा ठुलो नोक्सानी पुर्याएको छ, जसको प्रत्यक्ष्ँ असर मूल्यमा पनि देखिन्छ।’ बाढी र विभिन्न ठाउँमा खसेको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएपछि विभिन्न जिल्लाहरूबाट उपत्यका भित्रिने फलफूल र तरकारी औसत मागभन्दा कम रहेको निर्देशक पौडेलले बताउनुभयो। समितिले दैनिक औसत ८ सय मेट्रिक टन भित्राउँदै आएकोमा आइतबारदेखि औसत ५ सय मेट्रिकटन मात्र भित्रिने गरेको जनाएको छ। त्यस्तै भारतबाट आयात हुने वस्तु पनि औसतभन्दा निकै कम मात्र उपत्यका भित्रिएको निर्देशक पौडेलले जानकारी बताउनुभयो।

भारी वर्षा र बाढीको असर उत्पादनको क्षेत्रमा पनि परेकोले फलफूल तथा तरकारी अभावको समस्या बजारमा देखिनसक्ने निर्देशक पौडेलको भनाई छ। समितिको तथ्यांक अनुसार गतहप्ता गोलभेँडाको प्रतिकिलो खुद्रा मूल्य ६५ रुपियाँ रहेको मा सोमबारको मूल्य सूची अनुसार ८५ रुपियाँ पुगेको छ। सुकेको प्याजमा छोटो समयमा नै झण्डै दोब्बर अंकको वृद्धि देखिएको छ। भारतबाट आयातित प्याजमा मूल्य बढ्दा नेपाली बजारमा पनि सोही अनुपातमा मूल्य बढेको पौडेलको भनाइ छ। त्यस्तै अधिकांश तरकारीहरूमा २ दिनमा मात्र प्रतिकिलो १० देखि १५ रुपियाँ बढेको छ। समितिको तथ्यांकअनुसार गत शुक्रबार बन्दा प्रतिकिलो खुद्रा मूल्य २५ रुपियाँ रहेकोमा सोमबार ३५ रुपियाँ पुगेको छ। त्यसैगरी सुकेको प्याज ३५ रुपियाँ बाट बढेर ६५ रुपियाँ, मटरकोशा र घिउ ७५ रुपियँँबाट ८५ रुपियाँ, परवर ६५ रुपियाँबाट ७५ रुपियाँ प्रलिकिलो पुगेको छ। घिरौला ४५ रुपियँँबाट ६५ रुपियाँ पुगेको छ भने हरियो धनियाँ प्रतिकिलो १ सय १५ रुपियाँबाट १ सय ९० रुपियाँ पुगेको छ। त्यस्तै तरबुजा, मौसम लगायतका फलफूलको मूल्यमा पनि वृद्धि भएको छ। तर, खुद्रा व्यापारीहरूले भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यभन्दा निकै बढी मूल्यमा तरकारी बेच्ने गरेकाछन। बाढी र यातायातको समस्या देखाउँदै खुद्रा व्यापारीहरूले तरकारीको भाउ दोब्बर भन्दा बढी असुल्ने गरेको भन्दै पौडेलले उपभोक्ताहरूलाई पनि निर्धारित मूल्य थाहा पाएर मात्र खरिद गर्न आग्रह गर्नुभयो। समितिले निर्धारण गरेको खुद्रा मूल्यभन्दा व्यापारीले झण्डै दोब्बर असुल्ने हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जनजीविकामा देखिने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्