असार सकिँदा म्याग्दीमा ८० प्रतिशतमात्रै रोपाइँ



 

प्रताप बानियाँ, म्याग्दी
मध्य पहाडी जिल्ला म्याग्दीमा अहिलेसम्म ८० प्रतिशतमात्रै रोपाइँ भएको छ। पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ।

यसवर्ष मनसुन ढिलो शुरू हुनु, पर्याप्त पानी नपर्नु, सिँचाइको सुविधा नहुनु, मकै खेती गरिनु, पानीका मुल नफुट्नुलगायतका कारणले रोपाइँमा ढिलाइ हुन गएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो। उहाँका अनुसार जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार ८५६ हेक्टरमध्ये १९ हजार ४९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ। म्याग्दीमा ३ हजार ८९५ हेक्टरमा धानखेती हुँदै आएको छ भने बाँकी १५ हजार ६०३ हेक्टर पाखो तथा बारी रहेको उहाँले बताउनुभएको छ। प्रतिहेक्टर ३ दशमलव ३ मेट्रिक टन उत्पादकत्व रहेकोमा गतवर्ष १२ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको अधिकृत रिजालले जानकारी दिनुभयो।

जिल्लाको केही स्थानमा भने जेठ महिनामै धान रोप्ने गरिन्छ। कुल खेतीयोग्य जमिनमध्ये २१ प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ। विकासे धान खेतीतर्फ भने कृषकले चासो देखाएका छैनन्। नदी किनारका फाँटमा बढी धानखेती लगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ। पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धानखेती समेत गर्ने गरिएको कार्यालयले बताएको छ। किसानले भने भात खानकै लागि भनेर बारीलाई मासेर खेत बनाई धान रोप्दै आएका छन्। पाखो बारीमा घैया धान रोप्ने चलन पनि रहेको छ।

 

म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङे, पुलाचौर, सिंङा, बराङ्जा, बाबियाचौर, कुहँँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायतका क्षेत्रमा धानखेती हुँदै आएको छ। ती क्षेत्रहरू धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन्। हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुन नसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्