मतदातालाई आफ्नै पक्षमा पार्दै उम्मेदवारहरु



नवलपरासी, ८ असार । नवलपरासीमा फरक शैलीमा उम्मेदवारहरु मत माग्न व्यस्त छन् । घरायसी कामदेखि खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार सक्रिय छन् ।

रोपाई गर्ने याम सुरु भएसंगै उम्मेदवारहरु पनि खेतमा गएर किसानलाई सघाउन लागिपरेका हुन् ।

दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने जील्लाको प्रदेश नं ५ यतिबेला निर्वाचनमय बन्दै गएको छ । नवलपरासीमा पहिलो चरणमा निर्वाचन भई बाँकी रहेको प्रदेश नं ५ अन्तर्गतका सातवटा स्थानीय तहमा निर्वाचन माहोल तातेको हो ।

करिब १९ वर्षपछि हुन लागेको निर्वाचनका लागि जिल्लामा क्रियाशील ठूलादेखि साना दलसम्मका उम्मेदवार आफ्नो पक्षमा मतदाता रिझाउन लागिपरेपनि राष्ट्रिय जनता पार्टी (राजपा)ले भने निर्वाचनमा भाग लिएको छैन ।

नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा, माले र मधेस केन्द्रीत दलमध्ये फोरम लोकतान्त्रिक, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति, मधेस तराई फोरमलगायतका दल चुनावी अभियानमा छन् ।

विभिन्न सभा, जुलुस, घरदैलोलगायतका प्रचारप्रसारमुखी कार्यक्रममार्फत सबैजसो राजनीतिक दलका नेता कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा पुुगेका छन् ।

जिल्लाका सात वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । सबैजसो स्थानमा ठूला शीर्ष राजनीतिक दल काँग्रेस, एमाल), माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबीच प्रतिस्पर्धा हुने अवस्था छ ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीको सातवटा स्थानीय तहमा कुल एक लाख ८३ हजार १३ मतदाता छन् । जसमा ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी छन् । रासस

सत्तरीवटा मतदानस्थल अति संवेदनशील

नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा कुल ७० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलमको रुपमा लिइएको छ ।
ती मतदानस्थलमा निर्वाचनको क्रममा हुन सक्ने संवेदनशीलतालाई महसुस गरी सुरक्षा प्रबन्ध मिलाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

कुल १२० वटा मतदानस्थलमध्ये २७ वटालाई संवेदनशील र २३ वटालाई सामान्य मतदानस्थल निर्धारण गरी सुरक्षा रणनीति अघि सारिएको हो ।

सातवटा स्थानीय तहमा रहेका १२० मतदानस्थल र २४० वटा मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा करिब तीन हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । निर्वाचनका लागि आवश्यकताअनुसार नेपाली सेना ५००, सशस्त्र प्रहरी ५२०, नेपाल प्रहरी एक हजार १७६ र म्यादी प्रहरी एक हजार खटाउने तयारी छ । रासस

प्रतिक्रिया दिनुहोस्