“चुनाव भए पनि मै जित्छु”



पहिलो स्थानीय निर्वाचनका सबैभन्दा चर्चित स्थान भएको छ भरतपुर महानगरपालिका र मेयरका उम्मेदवारद्वय देवी ज्ञवाली अनि रेणु दाहाल। निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेपछि त्यहाँको १९ वडा अझै चर्चित भइरहेको छ। आयोगको यो निर्णयको प्रमुख विपक्षी नेकपा एमालेले कडा आपत्ति जनाएको छ र यस विषयमा सर्वोच्च अदालतमा रिट परेकोमा अदालतले यही जेठ २८ गते दुवै पक्षलाई झिकाउँदै सो अवधिसम्म निर्वाचनका कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ। पछिल्ला घटनाक्रमका बारेमा के भन्छन् त एमालेका मेयरका उम्मेदवार ? नेपाल समाचारपत्रका लागि प्रशान्त वलीले एमाले उम्मेदवार ज्ञवालीसँग गरेको कुराकानीः

भरतपुर महानगरको १९ वडामा पुनः मतदानको निर्णयलाई कसरी लिनुभएको छ ?

यो सरासर गलत निर्णय हो। यस्तो निर्णयले पछि निर्वाचन आयोगलाई दीर्घकालीन असर पर्छ। राज्यसत्ताको चरम दुरुपयोग भएको मैले महसुस गरेको छु। सरकारमा हुँदा मनपरीतन्त्र चलाइएको छ। कहीं नभएको जात्रा हाँडीगाउँमा भए जस्तो भो। कुनै प्रधानमन्त्री पुत्री निर्वाचनमा उठ्दा जे पनि गर्न पाइने कुरा कुन ऐनमा लेखिएको छ ? सत्तापक्षबाटै मतपत्र च्यात्न लगाउने काम भएको छ। निर्वाचन आयोग जितेको मान्छेलाई हराउने र हारेको मान्छेलाई जिताउने खेलमा लागेको छ। यस्तो घटना संसारमा बिरलै मात्र देख्न पाइन्छ। त्यसैले निर्वाचन आयोगको निर्णय सत्ताको चरम दुरुपयोगको उदाहरण हो। निर्णय सच्याइनुपर्छ।

निर्वाचन आयोगको निर्णयमा नै मतपत्र अवैध घोषणा गर्ने निर्णय गरिएको छ नि ?

जे कुरा गरे पनि यो घटना प्रचण्ड र शेरबहादुर देउवासँग जोडिएको छ। सत्ता बार्गेनिङको कुरासँग जोडिएको छ। अन्यत्र यस्तो नहुने प्रचण्ड पुत्री उठेकै ठाउँमा पुनः मतदान हुने कहीं लेखेको छ र ? फेरी सत्तापक्षमै रहेका केही व्यक्तिहरुले मतपत्र च्यातेको कुरा पनि बाहिर आएको छ। दोषी ठहर हुँदाहुँदै कारबाही गर्न नसकेर पुनः मतदानको कुरा उठाउनु न्यायसंगत् होइन। अहिलेको निर्वाचन प्रणाली देखेर विश्वनै चकित परेको छ। यस्तो घटना त १६औं शताब्दितिर हुन्छ भन्ने सोचेको थिए। यो प्रक्रिया हेरेर सचेत नागरिक समेत छक्क परेका छन्। जित्नेलाई हराउने गरी फैसला भएको कहीं देख्नुभएको छ।

फेरी मतदान भयो भने तपाईंले जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

निर्वाचन पश्चात् जित–हार स्वभाविक हो। कि जित कि हार एउटा अवश्य हुन्छ। लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने निर्णय भयो। यो न्यायसंगत् छैन। परिणामलाई स्वभाविक ढंगले ग्रहण गर्नुपर्छ। चुनाव भयो भने जित्नेमा म अझै ढुक्क र आशावादी छु तर, विधि र प्रक्रिया मिच्ने कामको विरोध गरेको हो। गलत मनशायले मतपत्र च्यात्ने काम कुनै हालतमा उपर्युक्त होइन। मैले जित्ने निश्चित भइसकेपछि जुन ढंगले गलत क्रियाकलाप भएका छन् यसले चितवनमा मात्र होइन पहुँचको भरमा जे पनि गर्न सकिन्छ भन्ने उदाहरण मिलेको छ।

पछिल्लो निर्णयपछि आयोगसँग सम्पर्क भयो कि ?

किन सम्पर्क गर्नु मेरो राजनीतिक जीवनलाई सिध्याउन षड्यन्त्र रच्ने आयोगसँग ? आयोग आफैं उल्लु भएको छ। प्रचण्ड र शेरबहादुरको ठाडो आदेशलाई स्वीकार्ने आयोग त भइहाल्यो। तसर्थ, निष्पक्षको वकालत नगर्ने आयोगसँग सम्पर्क गर्नुको कुनै औचित्य छैन। आयोगको निर्णय त्रुटीपूर्ण र अव्यवहारिक छ। आयोगले रेणु दाहाललाई टिको लगाइदिने जस्तो गरिराखेको छ। यस्तो आयोगको के विश्वास गर्नु ?

पुनः मतदान भयो भने के गर्नुहुन्छ ?

मतदाताहरुको निर्णय स्वीकार्नुपर्छ। मतदाताहरुनै अन्तिम हुन् मेरा लागि। निर्वाचनको मतगणनाका क्रममा जे–जस्ता गतिविधि भएका छन्। यो सरासर गलत र अक्षम्य हो भनेर केही मतदाताले सर्वोच्च अदालतमा निवेदन हालिसक्नुभएको छ। अदालतले न्यायीक फैसला दिनेछ भन्नेमा म आशावादी छु। अदालतको फैसला नै मेरो अन्तिम फैसला हुनेछ।

मतदान भए चुनावमा भाग लिनुहुन्छ ?

सर्वोच्चको फैसला हेरेर अगाडि बढ्छु। अहिले यही गर्छु भन्नेबारे केही सोचेको छैन। अहिले चितवनमा निर्वाचन आयोगको गलत कदमका विरुद्ध आन्दोलन भइराखेको छ।

अन्यत्र यस्तो नहुने प्रचण्ड पुत्री उठेकै ठाउँमा पुनः मतदान हुने कहीं लेखेको छ र ? फेरी सत्तापक्षमै रहेका केही व्यक्तिले मतपत्र च्यातेको कुरा पनि बाहिर आएको छ।

प्रतिक्रिया दिनुहोस्