आकांक्षा छात्रवृत्तिको छनोट नतिजा सार्वजनिक



काठमाडौं, (नेस)
आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक गरेको छ। विद्यार्थीको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले नतिजा सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी गराउनुभयो। उहाँले यही छात्रवृति नतिजा पूर्ण नभए पनि यसले दिन खोजेको सन्देश बृहत् रहेको धारणा राख्नुभयो।

छात्रवृत्तिअन्तर्गत सार्वजनिक, निजी तथा सामुदायिक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो। आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाइने कुल १० लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि १ सय विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
छात्रवृति नतिजा सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्