तालमेल कि जालझेल ?



काठमाडौंलाई छायाँमा पार्दै भरतपुर

पहिलो चरणको स्थानीय निकाय निर्वाचनमा सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बन्न पुगेको छ– भरतपुर महानगरपालिकाको निर्वाचन। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाल अर्को सत्तारुढ घटक नेपाली कांग्रेसको समर्थनमा मेयर पदमा उम्मेदवार बन्नुभएको छ भने उहाँलाई प्रमुख विपक्षी नेकपा (एमाले)का नेता देवी ज्ञवालीले टक्कर दिइरहनुभएको छ।

रेणु र देवीमा शुरुमा देवीले अग्रता लिनुभएकोमा बीचमा एकपटक रेणुले अग्रता लिनुभयो र बीचमा निकै अघि रहनुभएका देवीलाई रेणुले फेरि उछिन्नुभयो। दुवै जनालाई एक अर्काले बेलाबेलामा उछिन्ने क्रम जारी रहेको छ। कांग्रेसका वडाध्यक्षले जितेको स्थानमा पनि मेयरमा भने रेणुलाई कम मत आएको भनेर मतगणनास्थलको तीतो सत्तारुढ घटक कांग्रेस—माओवादी केन्द्रको नेतृत्व पंत्तिसम्म समेत पुगेको छ।

माओवादी केन्द्रका नेताहरुले अनौपचारिक कुराकानीका क्रममा कांग्रेसले चितवनमा धोका दिएको अन्तरघात गरेको यस्तैयस्तै आरोप लगाउन थालिसकेका छन्। उता कांग्रेसभित्रै पनि यो तालमेललाई लिएर असन्तुष्टि व्यापक रहेको छ। चितवनमा कांग्रेसका एक कार्यकर्ताले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन– ‘सभापति शेरबहादुर देउवाबाट गल्ती भयो। तालमेल गर्ने हो भने पनि अलिअघि नै गरेको भए हुन्थ्यो। अन्तिम अवस्थामा गरिएपछि पहिला टिकट पाएका कांग्रेसका कार्यकर्ता नै रिसाउने अवस्था आयो।

अझै धेरै मत गन्न बाँकी छ। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारले जित्ने निश्चित रहेको छ।
–कांग्रेसका जिल्ला सभापति श्रेष्ठ

म निकै फराकिलो मत अन्तरबाट विजयी हुनेछु। आगामी दिनमा जनताले दिएको मतलाई उच्च कदर गर्दै अघि बढ्ने प्रयत्न गर्नेछु।
–एमालेका तर्फबाट मेयरका उम्मेदवार ज्ञवाली

त्यसो गर्नुहुनेथिएन। कांग्रेस कार्यकर्ताले पूर्ण रुपमा सहयोग गरेको भए रेणुले निकै ठूलो अन्तरले जित्ने थिइन्।’ चितवनको सम्पूर्ण परिणाम नआइसक्दै चुनावी तालमेल दलहरुबीच भविष्यमा गर्नलाई अब अप्ठेरो परेको चर्चा परिचर्चासमेत भएको छ। राजधानीमै प्रमुख विपक्षी एमाले र चौथो राजनीतिक शक्ति राप्रपाबीच भएको तालमेलसमेत व्यवहारमा लागू नभएको भन्दै राप्रपाकातर्फबाट असन्तुष्टि पोख्ने काम अनौपचारिक रूपमा भइरहेको छ। एमालेले उम्मेदवार नै नउठाएको ठाउँमा पनि सूर्य चिन्हमा मतदान भएका घटनासमेत राजधानीभित्र देखिएका छन्। यसले गर्दा तालमेलको अर्को नाम जालझेल र गनगन हुन थालेको दलहरुबीच नै चर्चा हुन थालेको छ।

चितवनको प्रकरणले त अहिलेको सत्ता गठबन्धन नै टिक्ने कि नटिक्ने भन्ने सम्मका प्रश्नसमेत उब्जिन पुगेका छन्। यति मात्रै होइन प्रधानमन्त्री बन्नका लागि मुख मिठ्याइसक्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यही प्रकरणले गर्दा प्रधानमन्त्री बन्न नै अप्ठेरो पर्ने त होइन भन्ने प्रश्नसमेत उब्जिन पुगेको छ। देउवा रेणुलाई जसै गरी जिताउने पक्षमा नै हुनुहुन्थ्यो। त्यही भएर नै मौन समय शुरु हुनुअघिको अन्तिम दिन उहाँ प्रधानमन्त्रीकोपछि लागेर भरतपुरमै गएर मन्तव्यसमेत दिनुभएको थियो।

तर, कांग्रेसले जितेका वडाहरुमा रेणुलाई भने मत नपरेको देखिँदा देउवाको प्रस्ताव आफ्नै कार्यकर्ताले आंशिक रुपमा मात्रै स्वीकार गरेको प्रष्ट देखिएको छ। यसले गरेको अर्को संकेत भनेको कार्यकर्ताको भावना बुझिएन भने आगामी दिनमा नेतृत्वले लाद्ने कुरा अस्वीकृत हुन पनि सक्छन्।तर,मतसंख्या धेरै भएकाले अहिले नै भरतपुरमा यसै हुन्छ भन्ने अवस्था छैन। तर, रेणुको विजय वा पराजयमा देउवा र प्रचण्डको इज्जत जोडिएको घटनाका रूपमा पनि सर्वत्र चर्चा भइरहेको छ। यसले गर्दा मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको निर्वाचनको स्वाभाविक रूपमा चर्चा हुने गरे पनि त्योभन्दा बढी चर्चा अहिले भरतपुरको भइरहेको छ।

आखिर के होला त भरतपुरमा ?

नेपाली कांग्रेस चितवनले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेको छ। कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो– अझै थुपै्र मत गन्न बाँकी छ। अहिले नै आत्तिन जरुरी छैन। उहाँले भन्नुभयो– ‘अब केही वडाहरु कांग्रेसको पकड क्षेत्रअन्तर्गतका छन्। ढुक्क हुनुस् जित कांग्रेस–माओवादी संयुक्त प्यानलका उम्मेदवारको हुनेछ। शुरुआतीमा अग्रता ल्याउँदैमा हारी हालिन्छ भन्ने छैन।’ आफूहरुले गठबन्धनलाई धोका नदिएको समेत कांग्रेस चितवनका सभापति श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो। उहाँले आफू अहिले अग्रस्थानमै रहेको भन्दै फराकिलो मत अन्तरले विजयी हुने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो –‘जनताको अभिमतलाई स्वीकार गर्नुपर्छ। आफूमा आएको जिम्मेवारी सुम्पिन तम्तयार छु। आगामी दिनमा जनताले दिएको मतलाई उच्च कदर गर्दै अघि बढ्ने प्रयत्न गर्नेछु।’ नेपाल समाचारपत्रले प्रधानमन्त्री पुत्री रेणुलाई फोन सम्पर्कको प्रयास गरे पनि उहाँले फोन उठाउनुभएन।

 

प्रतिक्रिया दिनुहोस्