धुर्मुस सुन्तलीलाई अमेरिकाबाट २ करोड १० लाखको सहयोग

0
Shares

लक्ष्मीकुमार साह, महोत्तरी
होत्तरीको बर्दिवासमा अमेरिकामा बस्ने एक समूहले २ करोड १० लाख रुपियाँ सहयोग गरेको छ। महोत्तरीको बर्दिवास–२ स्थित एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउन्डेसनलाई २ करोड १० लाख रुपियाँ सहयोग एसोसिएसन अफ नेपाली इन मिनेसोटाबाट आएको छ।

एसोसिएसनका बोर्ड मेम्बर अनिल रायमाझी र स्विटी सिंह श्रेष्ठले बस्ती निर्माण स्थलमै पुगेर धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई सो चेक हस्तान्तरण गरेका थिए। उनीहरूको कार्य सराहनीय, प्रशंसनीय र उदाहरणीय भएकाले हामीहरूले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको बताएका छन्।

धुर्मुस सुन्तलीलाई आफूहरूले सहयोग गरेजस्तै देशविदेशमा रहेका नेपालीले देश बनाउने अभियानमा साथ र सहयोग गर्न एसोसिएसन अफ नेपाली इन मिनेसोटाले सबैमा अपिल गरेको छ। सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बस्ती निर्माणमा एकदमै ठूलो र सराहनीय सहायता भएको बताउँदै अभियानमा सहयोग गर्ने सम्पूर्ण मिनेसोटाबासीलाई धन्यवाद व्यक्त गरे।

संस्थाले फाउन्डेसनलाई दिएको सहयोगमा अनुमानित २५ लाख बराबरको १९ सय जस्तापाता भने गोरखा कुसुण्डेका भूकम्पपीडितललाई दिनुपर्ने बताएको छ। त्यसै गरी धुर्मुस सुन्तली फाउन्डेसनको बस्तीमै पुगेर हाल अमेरिकामा रहेका महोत्तरीको बर्दिवास निवासी तारा पौडेल चालिसे र सुमन चालिसेले पठाउनुभएको ५० हजार १ सय ५१ रुपियाँ उनका परिवारजनले हस्तान्तरण गरेका थिए।

त्यसै गरी महोत्तरीका स्वास्थ्य सेवा प्रदायक संस्थाको छाता संगठन रहेको स्वास्थ्य सरोकार मञ्च बर्दिवास महोत्तरीले ५३ हजार रुपियाँ सहयोग गरेको स्वास्थ्य सरोकार मञ्चले बताएको छ। यस्तो सिर्जनात्मक, रचनात्मक र ऐतिहासिक कार्यका लागि स्वास्थ्य संस्थाको तर्फबाट केही सहयोग पुगोस् भने उद्देश्यले रकम दिएको सो मञ्चका अध्यक्ष लीलामणि आचार्यले बताए।

बस्ती निर्माणका लागि आर्थिक तथा श्रम सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिँदै कट्टेलले बस्ती निर्माणका लागि राखेको अनुमानित रकम पूरा भएको घोषणा गरे। ५० वटा घर बनाउने भनिए पनि अहिले ५३ वटा घर बनेको भन्दै उनले वैशाख १ गते बस्ती हस्तान्तरण समारोहमा उपस्थितिका लागि समेत आग्रह गरेका छन्।

Skip This