दुर्घटनाको पीडाले निम्त्यायो विकास



नेपाल समाचारपत्र
हेटौंडा
र्घटना आफैंमा दुःखद कुरा हो। नहुनुपर्ने दुःखद घटनापछि कतिपय अवस्थामा प्रेरणादायी काम पनि हुने गर्छन्। मकवानपुरको शिखरपुरमा ६ वर्षअघि भएको जहाज दुर्घटनापछिको विकास यसको एउटा उदाहरण हो।

जहाज दुर्घटनामा मृत्यु भएकाको स्मृतिमा शिखरपुरमा मोटरबाटोदेखि निःशुल्क स्वास्थ्य क्लिनिकसम्म सञ्चालनमा आएका छन्। मृतकका आफन्तले शिखरपुर गाविस–२, बस्तीपुरमा ३ कोठे विद्यालय भवन निर्माण गर्नुका साथै स्वास्थ्य क्लिनिक, कर्मचारी आवासगृह, पुस्तकालयदेखि मोटरबाटोसमेत निर्माण गरिदिएका छन्।
छतिवन गाविसको चिसापानी हुँदै बस्तीपुरसम्मको ६ किमि सडक मृतकका आफन्तकै अगुवाइमा निर्माण भएपछि स्थानीयले यातायात सुविधा पनि पाएका छन्। त्यहाँ २०६७ भदौ ८ गते बिहान करिब ७ः३० बजे भएको दुर्घटनाका मृतकको सम्झनामा सोही स्थानमा करिब १६ फिट अग्लो बौद्ध स्मारक स्तूप बनाइएको छ।

विद्यालयको खेतमा निर्मित स्तूपमा राखिएको ताम्रपत्रमा सबै १४ मृतकको नामावली समावेश छ। दुर्घटनामा ८ नेपाली र ६ विदेशी नागरिकको ज्यान गएको थियो। अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा परेको थियो।

दुर्घटनामा मृत्यु भएकी परिचालिका सहारा शेर्पा, अमेरिकी नागरिक केन्द्रा डोम्निक्यु फालोन र जापानी नागरिक युक्की हायासीको स्मृतिमा मकवानपुरका विभिन्न विद्यालयमा सहयोग हुँदै आएको छ।

मृतक शेर्पा २१, हायासी र फालोन दुवै १९ वर्षीय थिए। तीनै परिवार र अग्नि एयरको करिब १२ लाख सहयोगमा विमान दुर्घटनास्थलमा बकिया ठाकुरलाई सहयोगका निम्ति स्काइ फाउन्डेसन खडा गरिएको हो।

शिखरपुर, मन्थली र फापरबारी गाविसका १३ विद्यालयमा निरन्तर आर्थिक तथा भौतिक सहयोग हुँदै आएको छ। सहारा, केन्द्रा र युक्कीको पहिलो अक्षरबाट (एसकेवाई) स्काई फाउन्डेसन निर्माण गरी विद्यालय र गाउँको विकास भइरहेको सहाराका बुबा तथा फाउन्डेसन अध्यक्ष दोर्जेछिरिङ शेर्पाले जानकारी दिए।
‘दुर्घटनामा मृत्यु भएकी छोरीको सम्झनामा गाउँको विकास गर्ने सोच पलायो,’ शेर्पाले भने– ‘हामी तीन परिवारको निजी खर्चमा सबै काम भइरहेको छ। छोरीको बिमाबाट आएको रकम पनि यही गाउँमा विकासमा लगायौं।’ बस्तीपुरको बकिया ठाकुर निम्न माध्यमिक विद्यालयनजिक जहाज दुर्घटनामा परेको थियो। दुर्घटना भएको स्थलमै स्काइ फाउन्डेसनले विद्यालय भवन निर्माण गरेको छ भने त्यससँगै स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ।

क्लिनिकमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिन्छ। स्वास्थ्य सेवा प्रदान गर्न प्रतिष्ठानले एक जना सीएमए खटाएको छ भने औषधिसमेत उपलब्ध गराउँदै आएको छ। करिब ५ सय वटा किताब सहयोग गरी विद्यालयमा लाइब्रेरी सञ्चालनमा ल्याइएको छ। बकिया ठाकुरबाहेक ३ गाविसका ९ वटा विद्यालयमा छात्रवृत्ति प्रदान गर्नुका साथै ९ जना निजी शिक्षकलाई नियमितरूपमा तलब दिइरहेको शेर्पाले बताए। शेर्पाले छोरीको निधनबाट आफू मर्माहत भएको भन्दै विद्यालयलाई यथाशक्य सहयोग गर्ने वचन दिए। छोरीको निधनको शोकलाई शक्तिमा परिणत गर्न आफू समाजसेवामा क्रियाशील भएको उनको धारणा छ।
प्रतिष्ठानले बकिया ठाकुरमा कर्मचारी आवास गृह निर्माण गरेको छ। आवास गृहमा प्रधानाध्यापकसहित केही शिक्षक बस्दै आएका छन्। यसरी सहयोग नभएको भए विद्यालय बन्द हुने अवस्था थियो। दाताले स्कुले विद्यार्थीलाई छात्रवृत्तिदेखि शिक्षकहरूको तलबलाई पनि रकम छुट्याएका छन्। १० जना शिक्षक रहेको विद्यालयमा ५ जनालाई निजी स्रोतबाट तलब दिइरहेको उनले बताए। विद्यालयको जग्गामा मृतक विदेशी परिवारले जापानबाट ल्याएका चेरी ब्लोजम बिरुवा रोपेका छन्। मृतक युक्कीका बुबा टोसीयाकी र आमा मिसाले बिरुवा रोपेका हुन्।

करिब ३ सय ५० विद्यार्थी अध्ययनरत विद्यालयमा प्रतिष्ठानले वार्षिक ५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालयले जनाएको छ। दुर्घटनापछि गाउँको मुहार नै फेरिएको स्थानीय प्रेमबहादुर गोलेले बताए। ‘घटना हुनु दुःखको कुरा हो, नहुनु भयो। तर, त्यसले हाम्रो गाउँमा विकास आयो, यो राम्रो पक्ष हो’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्