सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने



काठमाडौं, (नेस)

सेञ्चुरी कमर्सियल बैंकले हेटौडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने विषयमा शुक्रबार सम्झौता भएको छ। अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पुँजीमा हकप्रद जारी गरी करिब ४४ करोड रुपियाँ पुर्याएर समाहित हुनेछ। अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखा सञ्चालनमा रहेका छन्। गत पुस मसान्तमा ५ करोड ५ लाख रुपियाँ सञ्चालन नाफा गर्न सफल भएको छ।

सेञ्चुरी बैंकले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने सहमति गरिसकेको छ। सेञ्चुरी बैंकले चार संस्था प्राप्तिबाट करिब २ अर्ब रुपियाँ पुँजी प्राप्त गर्ने छ भने नपुग पुँजी हकप्रद शेयर जारी गरेर तथा चालू आवको मुनाफाबाट ८ अर्ब रुपियाँ पुँजी पुर्याउने लक्ष्य लिएको छ। सबै संस्था समाहित भएपश्चात बैंकको कुल शाखा कार्यलय ९० वटा हुने छन्।

सेञ्चुरी कमर्सियल बैंकको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन नाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपियाँ रहेको छ। बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९ दशमलब ३० प्रतिशत र यो वर्षको प्रथम त्रैमास भन्दा २०१ दशमलब ५० प्रतिशतले वृद्धि भएको छ। हाल सेञ्चुरी बैंकको चुक्ता पुँजी ३ दशमलब ६८ अर्ब रुपियाँ रहेको छ। उक्त अवधिमा बैंकले ३२ अर्ब ६८ करोड रुपियाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्