जोखिम मोलेर पढ्दैछन् गोनरपुराका विद्यार्थी



महोत्तरी, १ चैत।कमजोर भौतिक संरचना र विद्युत चुहावटका कारण स्थानीय गोरनपुराका सयौं साना विद्यार्थी अझैपनि ज्यानै जोखिममा राखेर पढ्दै गरेका छन् ।

सदरमुकाम छेउमै रहेको गोनरपुरा गाविस– ८ हरिहिर्दुवामा अवस्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अध्ययनरत तीन सय भन्दा बढी विद्यार्थी विद्यालयको भौतिक संरचनाको कारण ज्यानलाई जोखिममा राखेर पढन बाध्य भएका हुन् ।

विद्यालयको अबस्था क्षतविक्षत रहेको र दुई गाविसको मुख्य बिजुलीको ट्रान्सफर्मरबाट हुने विद्युत चुहावटले त्यहाँका विद्यार्थीको ज्यान जोखिमीमा परेको हो ।

सो ट्रान्फर्मरबाट प्रवाह भएको करेन्टले अनेकौ पटक यहाँका बालबालिका घाइते हुँदासमेत ट्रान्सफर्मर हटाउन कहिकतैबाट पहल हुननसकेको विद्यालयका शिक्षक रविकुमार यादवले बताउनुभयो ।

तीन सय नौ विद्यार्थी अध्ययनरत सो विद्यालयको भवन जीर्ण अवस्थामा रहेको छ भने विद्यार्थी बेञ्च र डेस्कको अभावमा भूइँमै बसेर पढ्न बाध्य छन् ।

त्यस्तै कक्षा २ र ३ का छात्रछात्रा भवन तथा शिक्षक अभावका कारण एउटै जीर्ण कोठामा पढ्दै आएको विद्यालय स्रोतले जनाएको छ ।

बालबालिकाको पढाइमा अवरोध आउन नदिन सम्बन्धित सबै सरोकारवालाले समयमै ध्यान दिनुपर्ने मानवअधिकार रक्षक सजालका जिल्ला अध्यक्ष अजय साहले बताउनुभयो ।

यस सम्बन्धमा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले तुरुन्त ट्रान्सफरर्मर हटाउनका लागि निवेदन दिन सो विद्यालयलाई निर्देश दिइएको छ भन्नुभयो ।

त्यस्तै सो विद्यालयको लागि दुई कोठे भवन स्वीकृत भइसकेको सो कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्