सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने भएको छ। सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने विषयमा बिहीबार दुवै पक्षबीच सम्झौता भएको छ।

सेञ्चुरी बैंकले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ। सेञ्चुरी बैंकले तीन संस्था प्राप्तिबाट करिब १ अर्ब ५० करोड रुपियाँ पुँजी प्राप्त गर्ने छ भने नपुग पुँजी हकप्रद शेयर जारी गरेर तथा चालू आवको मुनाफाबाट पुर्याउने लक्ष्य लिएको जनाएको छ।

ललितपुरको पाटनमा केन्द्रीय कार्यालय रहेको सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आवको नाफा समेतबाट ७८ करोड रुपियाँ पुँजी रहने छ। हाल सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालय रहेका छन्। त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा ५ दशमलब ६१ करोड खुद मुनाफा गर्न सफल भएको छ।

सेञ्चुरी कमर्सियल बैंकको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख रहेको छ। बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९ दशमलब ३० प्रतिशत र यो वर्षको प्रथम त्रैमासभन्दा २०१ दशमलब ५० प्रतिशतले वृद्धि भएको छ। हाल सेञ्चुरी बैंकको चुक्ता पुँजी ३ दशमलब ६८ अर्ब रहेको छ। त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा बैंकले ३२ अर्ब ६८ करोड रुपियाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्