रसुवामा बन्यो ६ वटा भुकम्प प्रतिरोधी पानी घट्ट



रसुवा, २ फागुन । रसुवाको माथिल्लो भागको दुई वटा गाविसमा ६ वटा भुकम्प प्रतिरोधी पानी घट्ट निर्माण गरिएको छ ।

जिल्लास्थित स्याफ्रु गाविसको ठूलोस्याफ्रु, व्रावल र सानोभाखु तथा धुन्चेको घट्टखोला, सोले र नागुङ क्षेत्रमा करिव २१ लाखको लागतमा ६ वटा भुकम्प प्रतिरोधी पानी घट्ट निमार्ण गरिएको हो ।

भुकम्पका कारण भत्किएका परम्परागत घट्टलाई सुधार गर्नुका साथै भवन भुकम्प प्रतिरोधी समेत बनाइएको छ ।

भुकम्प जानु भन्दा अघि सानो भार्खुमा सञ्चालित पानी घट्टमा दैनिक दुई मुरीसम्म पिठो पिस्ने गरेकोमा सुधारिएका पानी घट्टबाट थोरै समयमा धेरै पिस्न सकिने भार्खु सरसफाई उपभोक्ता समितिका अध्यक्ष थारचेन तामाङले बताउनुभयो ।

जिल्लाको माथिल्लो भागको १० वटा गाविसमा हालसम्म पनि विद्युतीय मिल स्थापना नहुँदा कुटानी पिसानीका लागि पानी घट्ट नै सञ्चालनमा रहेको छ ।

आइएमसी र युएनडिपिको आर्थिक सहयोगमा स्थानीय गैरसरकारी सस्था मानेकोर सोसाइटी नेपालले स्थानीय उपभोक्ता समिति मार्फत भुकम्प प्रतिरोधी पानी घट्ट निमार्ण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्