सनराइज बैंकद्वारा एनआईडीसी क्यापिटल एक्विजिसन



काठमाडौं, (नेस)
सनराइज बैंकले एनआईडीसी क्यापिटल मार्केट्सलाई एक्विजिसन गरी एकीकृत कारोबार शुरु गरेको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत वित्तीय कारोबारको उद्घाटन गर्नुभयो।

कार्यक्रममा गभर्नर डा. नेपालले सनराइज बैंक थप सशक्त हुनुका साथै मर्चेन्ट बैंकिङ सम्बन्धी कार्य आफैंले गर्न सक्षम भई ग्राहक तथा शेयरधनीलाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै सन्राइज बैंक का अध्यक्ष मोतीलाल दुगडले सरकारको लगानी रहेको कर्मचारी सञ्चय कोष, बिमा संस्थान जस्ता ५ वटा सरकारी निकाय संस्थापक रहेको कम्पनीलाई एकीकरण गर्न पाउँदाखुशी व्यक्त गर्दै बैंकले ६८ वटा शाखाबाट ग्राहक सेवा दिने जानकारी दिनुभयो।

बैंकको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपियाँ पुगेको र जसमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पुँजी ७ अर्ब ९ करोड रुपियाँ पुग्ने छ। चालू आर्थिक वर्षको नाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तय गरेको ८ अर्ब रुपियाँको चुक्ता पुँजी पुर्याउने बैंकको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्