राष्ट्रपति सिलाई ट्रम्पको पत्र



वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सि जिन्पिङलाई एउटा पत्र पठाएका छन्। चिनियाँ नेतासँगको उनको यो प्रत्यक्ष सम्पर्क रहेको बताइएको छ। ट्रम्पले सिलाई गत महिना आफूले ह्वाइट हाउसमा औपचारिक रूपमा पदभार ग्रहणगर्दा बधाई दिएकोमा सिलाई धन्यवाद दिँदै चीनसँगको सकारात्मक सम्बन्धको आशा राखेको कुरा सो पत्रमा उल्लेख गरेका छन्।

उनले सिसँग प्रत्यक्षवार्ता गरेका छैनन्। तर विश्वका अन्य नेताहरूसँग भने उनले राष्ट्रपति भए यता टेलिफोन वार्ता गरिसकेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले ट्रम्पको पत्रलाई आफ्नो देशले ठूलो महत्त्व दिएको बताएको बिहीबार रोयटर्स समाचार निकायले जनाएको छ।

काङले नयाँ चान्दि«क वर्षको उपलक्षमा चिनियाँ जनतालाई शुभकामना पठाएकोमा ट्रम्पको प्रशंसा गर्दै दुई देशबीचको आपसी सहयोग एक मात्र विकल्प रहेको बताएका छन्। चिनियाँ व्यापार र नीतिहरूमाथि लगातार उग्र आक्रमणपछि यस पत्रले सुखद कूटनीति कदम पछ्याएको छ। पछिला केही महिनामा ट्रम्पले बेइजिङलाई ताइवान र दक्षिण चीन सागरजस्ता अति संवेदनशील विषयमा चुनौती दिँदै आएका थिए।

ताइवानका राष्ट्रपति साइ इंग वेनसँग टेलिफोन वार्ता गरी ट्रम्पले चीनलाई चिढाएका थिए। यसैबीच अमेरिकी सिनेटले ट्रम्पद्वारा महान्याधिवक्ता पदमा मनोनित अलावामाका सिनेटर जेफ सेस्सन्सलाई बिहीबार अनुमोदन गरेको छ। सिनेटमा भएको मतदानमा उनको पक्षमा ५२ र विपक्षमा ४७ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्