आइफोनमापनि फोरजी



काठमाडौ(नेस)
नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा आइफोनमापनि सञ्चालन गर्न सकिने भएको छ।

माघ २५ गतेदेखि सबै सेरिजका आइफोन सेटहरूमा पनि टेलिकमले फोरजी सेवा प्रदान गरेको हो। यसअघि यो सेवा आइफोन ५ सेरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो।

नेपाल टेलिकमले फोरजी सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सबै सेरिजका मोवाइल फोन सेटहरूमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो।

फोरजी सेवा सञ्चालन भइसकेपछि पनि आइफोनका केही सेरिजहरूमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरूलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रूपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धा्रित समय अगावै बेटा भर्सन रिलिज गरी आइफोनका सेरिजका सेटहरूमा फोरजी सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको हो।

नेपाल टेलिकमले २०७३ पौष १७ गते देखि नेपालमै पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरूका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरूलाई पनि यो सेवा उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्