अफगानिस्तानमा हिमपहिरोमा ५० को मृत्यु



काबुल, (एजेन्सी)
अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँपहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ। घटनामा अन्य कैयौं घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

यस दुखद् प्राकृतिक प्रकोपले हाससा गाउँ र विषेश गरी वर्ग ई मताल जिल्ला निकै प्रभावित भएको तथा करिब एक दर्जन व्यक्ति घाइते भएको प्रान्तीय एक उच्च अधिकारीले जानकारी दिएका छन्।

पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने पहिरोका कारण थुप्रै घरमा क्षति पुगेको बताइएको छ।

प्रभावित क्षेत्रका सडकमा हिउँका कारण यातायात अवरुद्ध भएको छ भने उद्धार र सहयोगका लागि खटाइएका सुरक्षाकर्मी तथा उद्धारकर्मीले बाटोबाट हिउँ पन्छाउने प्रयास भइरहेको बताइएको छ।

अफगानिस्तानका विभिन्न ठाउँमा भएको बाक्लो हिमपात र अत्याधिक जाडोका कारण पछिल्लो तीन दिनमा मात्रै ९० जनाको मृत्यु भएको छ। सोही अवधिमा हिउँले गर्दा झन्डै २० सय वटा घरमा क्षतिग्रस्त भएका छन्।

गत चौबीस घन्टाको अवधिमा अफगान सुरक्षा फौज र राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको पहलमा झन्डै चालीस वटा सवारीसाधनका कैयौं यात्रुलाई उद्धार गरिएको छ।

यसैबीच दक्षिणी पाकिस्तानी शहर कराँचीस्थित एक विदेशी नियोगमा सुरक्षा गार्डले सोमबार एक जना अफगान कूटनीतिज्ञलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। अफगान कूटनीतिक नियोगका उच्च अधिकारी मोहमद जाकीको आक्रमणको केही समयपछि नै मृत्यु भएको नियोगका प्रवक्ताले बताएका छन्।

अफगान नागरिक ती आक्रमणकारी निजी सुरक्षागार्ड अहिले प्रहरी हिरासतमा रहेका छन्। ती अधिकारीसँग भनाभन हुनासाथ उनले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्।

उनी ती अधिकारीकै निजी अंगरक्षक भएको पनि बुझिएको छ। तर, तिनीहरूबीच के विषयमा विवाद भएको भन्ने स्पष्ट हुनसकेको छैन। पाकिस्तानका लागि अफगान राजदूत ओमार जाखिलवालले यस गोलीकाण्डको पुष्टि गरेका छन्।

यसै गरी हिंसाग्रस्त अफगानिस्तानमा मारिने सर्वसाधारणको संख्यामा अचाक्ली वृद्धि भएको छ। तिनीहरू इस्लामिक स्टेट (आईएस) लडाकूको आक्रमणमा मारिएका हुन्।

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सन् २०१६ मा ३ हजार ४ सय ९८ जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य ७ हजार ९ सय २० जना घाइते भएको उल्लेख गरिएको छ। यो संख्या सन् २०१५ को तुलनामा ३ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहोस्