एसबीआई बैंकको एफपीओमा ठूला लगानीकर्ता चिप्लिए



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एसबीआई बैंकको एफपीओ आइतबार बाँफाँडमा भएको छ। शेयर आवेदकको संंख्या धेरै भएपछि गोलाप्रथाद्वारा बा“डफाड गरिएको एफपीओमा ठूला लगानीकर्ता मर्का परेका छन्। धेरै आवेदन गर्नेले पनि १० कित्तामात्र शेयर पाएका छन्। तर, हिसाब मिलाउनका निम्ति सात जना ११ कित्ता र एक जनाले १० दशमलव ८७ कित्ता पाएका छन्।

बैंकको एफपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम् ६७० कित्तासम्मको आवेदन परेको थियो। कुल आवेदक ५७ हजार ९ सय ५३ जनाले आवेदनमध्ये ८२७ जना अयोग्य भएका थिए। ५७ हजार एक सय २६ जनामध्येबाट गोलाप्रथा गर्दा ६ हजार ७७६ जनालाई शेयर परेको छ। प्रतिकित्ता ९ सय ७१ रुपियाँका दरले प्रिमियममा कुल ६७ हजार सात सय ६७ दशमलव ८७ कित्ता एफपीओ बिक्री गरेको हो। एफपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी ६७ लाख रुपियाँले बढ्ने छ भने बाँकी ६ करोड बढी रकमको प्रिमियम जगेडा कोषमा जम्मा हुनेछ। बैंंकले पुस १० देखि १३ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो।

यसैबीच नेपाल स्टक एक्सचेन्जले दोस्रो बजार कारोबारमा थप सहज बनाउन आइतबारदेखि नियमित समयमा नै १० कित्ताभन्दा कम अडलटको पनि शेयर कारोबार हुने व्यवस्था गरेको छ। यसअघि नेप्सेमा नियमित कारोबार समय आइतबारदेखि बिहीबारसम्म विहान ११ बजेदेखि दिउ“सो ३ बजेसम्म अडलट बाहेकका अन्य अर्डर १० र १० ले गुणा जाने संख्याको धितोपत्र कारोबार हुँदै आएको थियो। यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने अवस्था नरहे अर्डर क्यान्सिल हुने समस्या रहेको थियो।

नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्तालाई थप लाभ हुने नेप्सेको विश्वास छ। अडलटले बजारमा चलखेल बढेको भन्दै लगानीकर्ताले यो समस्या समाधान गर्न आग्रह गर्दै आएका थिए। बजारलाई थप पारदर्शी र आधुनिक बनाउन सहयोग पुग्ने नेप्सेको भनाइ छ। यसअघि १० कित्ताभन्दा कम शेयर नेप्सेमा शुक्रबारमात्रै कारोबार हुँदै आएको थियो। शेयर विद्युतीय अभिलेख र अभौतिकिकरण गरिएको शेयरको मात्र कारोबार हुने व्यवस्था लागू भएपछि १० कित्ताभन्दा पनि कम शेयर किनबेच गर्न सम्भव हुने भन्दै नयाँ व्यवस्था गरिएको हो।

यसैबीच आइतबार ८ कम्पनीको १ करोड १० लाख ६४ हजार ७२० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमध्ये बोनस शेयरतर्फ पोखरा फाइनान्सको ६ लाख ६३ हजार १० दशमलव ९२ कित्ता, हिमालयन जनरल इन्स्योरेन्सको ६ लाख ४२ हजार कित्ता, हामा मर्चेन्ट एन्ड फाइनान्सको २ लाख ६५ हजार २०० कित्ता छ। प्यासिफिक डेभलपमेन्ट बैंकको २ लाख ४० हजार ७१६ कित्ता र रिडी हाइड्रोपावरको २ लाख ७० हजार ९५३ कित्ता सूचीकृत भएको छ।

त्यस्तै सिद्धार्थ बैंकको ७५ लाख ५५ हजार १९३ कित्ता र मनास्लु विकास बैंकको ९ लाख १७ हजार ६४७ कित्ता हकप्रद र कर्णाली विकास बैंकको १ लाख १० हजार कित्ता बोनस र ४ लाख कित्ता हकप्रद सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्