१ करोड रुपियाँ शंकाको घेरामा



नयाँदिल्ली, (एजेन्सी)
भारतको केन्द्रीय राजस्व सचिव हसमुख अधियाले नोटबन्दीका क्रममा जति पनि पैसा बैंक खातामा जम्मा भएका छन्, त्यसमा अधिकांश खातामा २ लाख वा त्योभन्दा धेरै रुपियाँ जम्मा भएको बताए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष नोभेम्बर ८ मा ५ सय र १ हजारका पुराना नोट चलाउन बन्द गर्ने घोषणा गरेका थिए। त्यसपछि ५ सय र २ हजार मूल्यका नोट चलनमा आएका थिए। बन्द भएका नोट बैंकका खातामा जम्मा भएको र तीमध्ये दुई तिहाइमा २ लाखभन्दा धेरै पैसा जम्मा भएको उनले जानकारी दिए।

ती खाताहरूमा कुल १० लाख ३८ हजार करोड रुपियाँ जम्मा भएका छन्। नोटबन्दीका क्रममा ५ लाख ४८ हजार करोड रुपियाँ ९ लाख बैंकका खाताहरूमा जम्मा भएको पनि अधियाले जानकारी दिए। ती बैंक खातामा २ देखि ८० लाख रुपियाँसम्म जम्मा गरेका थिए।

८० लाखभन्दा धेरै रुपियाँ जम्मा भएका खाताको संख्या १ लाख ४८ हजार भएको र ती खातामा ४ लाख ८९ हजार करोड रुपियाँ जम्मा भएको उनले जानकारी दिए। राजस्व विभागले मंगलबारबाट शुरू भएको स्वच्छ धन अभियानको पहिलो चरणमा १८ लाख संदिग्ध मामिला फेला पारेको जनाएको छ। यो अभियान दुई वर्षसम्म जारी रहने जनाइएको छ।

ती १८ लाख संदिग्धहरूलाई सरकारले अहिलेसम्म कुनै सूचना जारी गरेको छैन। तर विभिन्न इलेक्ट्रोनिक प्लेटफर्मको माध्यमबाट उनीहरूसँग स्पष्टीकरण मागेका छन्।

ती १८ लाखले नोभेम्बर ९ देखि डिसेम्बर ३० को बीचमा ५ वा त्योभन्दा बढी रुपयाँ जम्मा गरेका थिए। तर उनीहरूको आय र बैंकमा जम्मा गरेको पैसासँग कुनै सम्बन्ध नदेखिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्