एन्जाको ‘होप’ सामान्य बन्दै



अबुजा, (एजेन्सी)
एक वर्ष पहिला सडकमा भोकले बेहाल मृत्युको पर्खाइमा रहेका नाइजेरियाली एक बालकलाई सामाजिक कार्यकर्ता एन्जा रिंगग्रेन लावेन अन्ततः नयाँ जीवन दिन सफल भइन्। त्यति बेला एन्जाकै हातबाट पानी पिउँदै गरेका ती बच्चाको क्लिक भएको तस्वीरले विश्वकै ध्यान तानेको थियो।

सन् २०१६ जनवरीमा अफ्रिका पुगेकी डेनिस च्यारिटीका कार्यकर्ता एन्जाको आँखा सडकमा ढलमलिँदै घुमिरहेका २ वर्षीय उक्त बालकमाथि परेको थियो। भोकले मृत्युको संघारमा पुगिसकेका ती बच्चालाई आमाबुबाले भूत मानेर त्यागेका थिए। यस्ता बच्चालाई सानैमा परिवारले सैतान मानेर यातना दिने र पछि मर्नका लागि छोड्ने गरिन्छ।

उसले विगत ८ महिनादेखि सडकमा जिन्दगी त्यसरी नै बिताइरहेका थिए। एन्जाले ती बच्चालाई खाना खुवाउने मात्र होइन हस्पिटलमा उनका उपचार पनि गराए। एन्जाले उनको नाम ‘होप’ अर्थात् आशा राखेकी थिइन्। त्यसको पूरै एक वर्षपछि उनले ती बच्चाको तस्वीर फेरि एकपटक सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। अहिले होप आम बच्चाहरूजस्तै स्कुल गइरहेका छन्। मर्नका छोडिएको यो बच्चा आज जिन्दगीको नयाँ किरण बनिसकेको छ।

एन्जाले उक्त बच्चालाई पहिलोपटक देख्दा भोकले चुर उनको अवस्था अत्यन्त नाजुक थियो। उसको शरीरमा किराहरू स्याउँस्याउँती थियो। एन्जाले उनलाई नजिकको अस्पतालमा भर्ना गरिन् र त्यहाँका डाक्टरले उनको ज्यान बचाइदिए। त्यति बेलादेखि होप एन्जा र उनका पतिद्वारा सञ्चालित च्यारिटी हाउसमा बसिरहेका छन्। अहिले स्कुलमा जाँदै गरेका होपको तस्वीर देखेपछि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेकाहरू सबैले खुसी व्यक्त गरेका छन्।

एन्जाले नाइजेरियालगायत अफ्रिकाका अत्यन्त पिछडिएका इलाकामा परिवारले त्याग गरेका त्यस्तै बच्चाहरूलाई आफ्नो संस्थामा ल्याउने गरिरहेका छन्। अफ्रिकन चिल्ड्रेन्स एड एजुकेसन एन्ड डेभलपमेन्ट फाउन्डेसन सञ्चालन गर्दै आइरहेकी एन्जाको होपसँग खिचिएको उक्त तस्वीर भाइरल भएको थियो। यसले विश्वभरिबाट उनको संस्थालाई करिब १ करोड डलर सहयोग प्राप्त भयो। अहिले होप सामान्य बालक जस्तै स्वस्थ्य जीवन बिताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्