ट्रम्पको ईयूमाथिको दवाव स्वीकार्य छैनः होलान्ड



माल्टा, (एजेन्सी)
फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ होलान्डले शुक्रबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबाट युरोपियन युनियन (ईयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताएको छ।

ट्रम्पले पछिल्लो समय ईयूका सदस्य राष्ट्रबीच फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गरिरहेको होलान्डको आरोप छ। माल्टामा भइरहेको ईयू शिखर सम्मेलनका अवसरमा होलान्डले केही विज्ञप्तिमा ईयूलाई निर्देशन दिने अभिप्रायका अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति ईयूलाई मान्य नहुने पत्रकारहरूलाई बताए।

होलान्डले अमेरिकी राष्ट्रपति ट्रम्पले विशेष गरी ट्रान्स एटलान्टिक गठनबन्धन र खर्चको बाडफाँडकका सम्बन्धमा दिएको अभिव्यक्ति कुन उद्देश्यले आएका हुन भन्ने विषय नै शंकाको घेरामा रहेको बताए।

पोल्याण्ड र हंगेरीका नेताहरूबाट व्यक्त भएका विषयमा फ्रान्सको कस्तो अडान रहनेछ भन्ने प्रश्नका जवाफमा होलान्डले भने,‘यदि अमेरिका ईयूको भविष्यका बारेमा अमेरिका र ईयूबीच सहकार्य गरेर अघि बढ्न नसक्ने हो भने ट्रम्पको भविष्यसमेत उज्जल रहने छैन।’

ईयूका सदस्य रहेका धेरै राष्ट्रहरूले आफ्नो भविष्यका बारेमा पहिला ईयूसँग सहकार्य नगरी अमेरिकासँग द्विपक्षीय सम्बन्ध स्थापना गर्दैमा सहज नहुने धारणा उनले राखेका छन्।

यूरोपका कतिपय मुलुकलाई बेलायतको ईयू बहिर्गमनको विषयप्रति चिन्तन गर्न गरेको ट्रम्पको आग्रहलाई होलान्डले अस्वभाविक भएको प्रतिक्रिया दिए।

उक्त अवसरमा जर्मन चान्सलर एन्जेला मर्केलले २८ राष्ट्र सदस्य रहेको ईयूले आफ्नो भविष्यप्रति सजग रहेको टिप्पणी गर्नुभयो ‘ईयूलाई जति बलियो पार्नसक्यो यसको विश्व समुदायमा त्यतिनै विश्वसनीयता बढ्ने छ,’ –मर्केलले बताइन्। त्यसै गरी अस्ट्रेलियाली चान्सलर क्रिस्टियन कर्नले ट्रम्पको विवादास्पद आप्रवासी नीतिको आलोचना गरे।

उत्तर कोरियालाई चेतावनी
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यदि उत्तर कोरियाले कुनै पनि परमाणु हतियारको प्रयोग गरेमा उसले त्यसको कडा र प्रभावकारी जवाफ पाउने चेतावनी दिएका छन्। दक्षिण कोरियाको भ्रमणमा रहेका म्याटिसले दक्षिण कोरियालाई अमेरिकाको समर्थन जारी रहनेमा आश्वस्त पारेका छन्।

उत्तर कोरियाले लगातार क्षेप्यासत्र र परमाणु परीक्षण गरिरहेको छ। उसले लगातार आक्रामक बयान पनि दिइरहेको छ। यसले त्यस क्षेत्रमा प्राय तनाव स्थिति रहँदै आएको छ। कोरियाली युद्धपछि भएको सुरक्षा सम्झौताअन्तर्गत दक्षिण कोरिया र जापानमा अमेरिकी सेनाको उपस्थिति रहेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि ती दुबै देशमा अमेरिकी सैन्य तैनाथ जारी राख्नका लागि उनीहरूले धेरै भुक्तानी गर्नुपर्ने अन्यथा त्यहाँबाट अमेरिकी सेना फिर्ता गर्ने बताएका थिए।

दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कुसँगको वार्तापछि म्याटिसले पत्रकारहरूलाई भने– ‘अमेरिका र उसका सहयोगीमाथि कुनै पनि हमला भएमा आक्रमणकारीले हार्नुपर्नेछ। यदि कुनै पनि परमाणु हतियारको प्रयोग भएमा त्यसको उपयुक्त र प्रभावकारी जवाफ पाउनेछ।

उत्तर कोरियाले गत वर्ष पाँचौ परमाणु परीक्षण गरेको थियो। उसले आफ्नो परमाणु हतियारबाट अमेरिकामा पनि आक्रमण गर्न सक्ने क्षमता रहेको दावी गरेको छ। यद्यपि विशेषज्ञहरू उक्त दावीसँग सहमत छैनन्। हालै मात्र उसले आफूसँग अन्तरमहाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र भएको बताएका थिए, जसले अमेरिकाका थुप्रै स्थानलाई निसाना बनाउने क्षमता राख्छ।

प्रतिक्रिया दिनुहोस्