पत्नीको दुईवटै कान काट्ने फरार



काबुल, (एजेन्सी)
अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा घरेलु हिंसाको दौरान आफ्नो पतिले आफूलाई डोरीले बाँधेर आफ्ना दुईवटै कान कसरी काटे भन्ने वृतान्त एक २३ वर्षीया महिलाले बीबीसीलाई बताएकी छिन्।

जरिना नामक ती महिलाको स्वास्थ्यस्थिति अहिले स्थिर रहे पनि उनी अस्पतालमा ठूलो मानसिक पीडा बोकेर उपचार गराइरहेकी छिन्। उनी भन्छिन्– ‘मैले कुनै पाप गरेकी छैन। तर मेरो पतिले किन यस्तो गरे मलाई थाहा छैन।’ उक्त आक्रमणपछि उनका पति कासिन्दा जिल्लामा फरार रहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

जरिना भन्छिन्– ‘राति अचानक ब्युँझाएर उनले मलाई आक्रमण गरेका थिए। मेरो १३ वर्षको उमेरमा विवाह भएको थियो। तर पतिसँग मेरो सम्बन्ध राम्रो थिएन। मलाई उनले माइत जानबाट रोक्ने गर्दथे। अब म ऊसँग बाँकी जीवन बिताउन चाहन्नँ। निकै शंकालु स्वभावका उनले माइत जाँदा मैले अरू पुरुषहरूसँग कुरा गर्ने गरेको आरोप लगाउने गर्दथे।’

उनले आफ्नो पतिलाई गिरफ्तार गरी सजाय दिइयोस् भनी माग गरेकी छिन्। गत वर्षको जनवरीमा उत्तर–पश्चिमी फर्याब प्रान्तको विकट घोर्माच जिल्लामा रेजागुल नामकी एक महिलालाई उनका लाग्नेले नाक काटिदिएका थिए।

त्यसै गरी सन् २०१५ को नोभेम्बरमा घोर प्रान्तमा चरित्रमाथि प्रश्न उठाउँदै एक महिलालाई ढुंगाले हाने मारिएको थियो। साथै सोही वर्षको मार्चमा राजधानी काबुल निवासी फर्खुन्दा नामक महिलालाई कुरान जलाएको झुठो आरोपमा भिडले पिटेर र आगो लगाएर हत्या गरेको थियो।

प्रतिक्रिया दिनुहोस्