२ करोड लगानीमा पेपर कप उद्योग शुरु



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।

जिल्लामा पहिलो पटक अत्याधुनिक डिजिटल मेशिन सहितको पेपर कप उत्पादन शुरु गरिएको छ । एक दिनमा ६० हजार भन्दा धेरै उत्पादन गर्ने क्षमता रहेका दुई डिजिटल मेशिनको उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले उद्घाटन गरेका थिए ।

बनेपाका युवा ब्यवसायीहरु शान्तिरत्न शाक्य, बसन्तनारायण भोक्षिभोया, सुरेश भोक्षिभोया, गणेशकुमार रञ्जित र साजन शाक्यको संयुक्त लगानीमा शुरु भएको माँ चण्डी शुभश्री इण्डस्ट्रीज प्रालीबाट नेपालका अधिकांश क्षेत्रमा उक्त कप पु¥याउने लक्ष्य राखिएको छ ।

छिमेकी देश चीनबाट ल्याईएका उक्त मेशिनका अपरेटहरुको तालिम पनि चीनमै गराईएको छ । एक वर्षदेखि अध्ययन गरिएको उक्त उद्योगको शुरुवातीमा केहि चुनौती भए पनि प्लास्टिक मुक्त नेपाल बनाउने अभियान शुरु भए सँगै पेपर कपको माग बढ्दै गएको छ ।

प्लास्टिकका कपमा तातो चिज प्रयोग गर्दा मानव स्वास्थ्यमा ३२ प्रकारका क्यान्सरजन्य रोगहरु लाग्ने प्रमाणीत भएपछि ब्यवसायीहरुले मानव स्वास्थ्यलाई समेत ख्याल गरी पेपर कप उत्पादनमा लगानी गरेको उद्योगी शान्तिरत्न शाक्यले भने ।

‘२ करोड भन्दा धेरै लगानी रहेको उक्त मेशिनले दैनिक ६० हजार भन्दा धेरै कपहरु उत्पादन गर्छ’–शाक्यले भने–‘३/४ पटकको चीनको अध्ययन भ्रमण र नेपालको बजार अध्ययन गरेपछि मात्रै उद्योग शुरु गरेका हौं ।’ नेपाली कागजबाट उत्पादन भएको कप मानव स्वास्थ्यका लागि उपयुक्त भएको प्रमाणित भएपछि मात्रै उद्योगका रुपमा शुरु गरिएको उनले बताए ।

उद्योगबाट चार प्रकारका कपहरुको उत्पादन हुनेछ । चिसो, तातो दुबै प्रयोग गर्न सकिने, तातो मात्रै प्रयोग गर्ने र चिसो मात्रै प्रयोग गर्ने फरक फरक साईज र प्रकारका कपहरु उत्पादन गरिएको छ । एक सय ५० एमएल, २ सय १० एमएल, २ सय ४० एम एल र ३ सय एमएलको कपहरुमा सानो साईजमा चिया कफी र ठुलो साईजमा ड्रिङ्गसका लागि उपयुक्त हुने उद्योगी सुरेस भोक्षिभोयाले जानकारी दिए । एक मिनेटमा ७० वटा कप उत्पादन गरी नेपालका सबै क्षेत्रमा बजारीकरण गर्ने उदेश्य राखेको कपको मुल्य उत्पादन लागत १ रुपैया ७० पैसा पर्छ भने बजार मुल्य २ रुपैया पर्नेछ ।

बजारबाट विस्थापित गराईदै लगिएको मानव स्वास्थ्यमा आघात पार्ने प्लास्टिकको विकल्प खोजिएका बेला बनेपामा शुरु गरिएको उद्योगले आम नेपालीलाई राहत उपलब्ध गराउने छ ।

उद्योगको उद्घाटनमा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्य, उपाध्यक्ष प्रकाश मानन्धर, पुर्व अध्यक्षहरु दियेशरत्न शाक्य, लक्ष्मीलाल राजभण्डारी, वर्तमान पदाधिकारी, जेसिजका पुर्व तथा बर्तमान अध्यक्ष तथा पदाधिकारीहरु, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

ब्यापारीक नगरी बनेपामा शान्ति प्रकृयासँगै साना ठूलो उद्योग, होटल तथा पार्टी प्यालेसहरु ब्यवसायीक रुपमा शुरु हुन थालेका छन् । बढ्दै गएको बेरोजगारी तथा पुर्वी नाका सिन्धुलीको लोकमार्ग संचालनसँगै बनेपामा ब्यापार बढेको ब्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्