क्युबेक मस्जिद हत्याकाण्डका अभियुक्त ट्रम्पका प्रशंसक



क्युबेक, (एजेन्सी)
क्यानाडाको क्वुबेकस्थित एउटा मस्जिदमा आक्रमण गरी ६ जना मुस्लिमको हत्या गरेका घटनामा क्यानाडाका प्रहरीले एक जना फ्रान्सेली क्यानाडाली छात्रमाथि अभियोग लगाएको छ। अलेक्ज्यान्डर बिसोनेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक भएको जनाइएको छ।

बिसोनेटमाथि ६ जनाको हत्या तथा ५ जनाको हत्या प्रयास गरेको आरोप लगाइएको छ। आइतबार साँझ क्युबेक इस्लामिक सांस्कृतिक केन्द्रमा भएको आक्रमणपछि पक्राउ परेका २७ वर्षीय एलेक्ज्यान्डरलाई केही समयका लागि अदालतमा पेस गरिएको थियो। आक्रमणको समयमा मुसलमानहरू नमाज पढिरहेका थिए। उक्त आक्रमणले क्यानाडामा व्यापक खैलाबैला मच्चाएको थियो।

गोलाबारी हुँदा मस्जिदमा ५० जनाभन्दा धेरै मान्छे थिए। हमलामा १९ जना घाइते भए। उनीहरू सबै पुरुष भएको र ५ जना अझै अस्पतालमै उपचार गराइरहेका छन्। तीमध्ये दुई जनाको अवस्था अन्यन्त्य गम्भीर भएको जनाइएको छ।

उक्त आक्रमणको घटनामा मोरक्को देशसँग सम्बन्ध रहेको व्यक्ति मोहम्मद खादिरलाई पनि पक्राउ गरिएको थियो। खादिरलाई प्रत्यक्षदर्शीका रूपमा पेस गरिने जनाइएको छ। क्युबेकको प्रान्तीय प्रहरीले मारिएका सबै ६ जनाको नाम जारी गरेको छ। अलेक्ज्यान्डरले आफैले प्रहरीलाई उक्त मामिलामा मद्दत गर्न चाहेको फोनबाट बताएका थिए। अलेक्ज्यान्डरले लेवर युनिभर्सिटीबाट राजनीति विज्ञान र मानवशास्त्रको अध्ययन गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएको छ। सामाजिक सन्जालहरूमा उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रेन्च नेसनल फ्रन्टका नेता मरिनले पेनका प्रशंसक भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्