पाँच करोड सतासी लाख यात्रुलाई हवाई सेवा



सिंगापुर, (एजेन्सी) सिंगापुरको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल चांगी विमानस्थलले सन् २०१६ मा ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा पुर्याएको छ।

चौबीसै घण्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुवैतिरबाट आवागमन गर्ने हवाई यात्रु संख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो।

विमानस्थल अधिकारीका अनुसार गत वर्ष सेवा प्रदान गरिएका समग्र यात्रु संख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ओसिनियाली राष्ट्रतर्फ प्रस्थान गर्ने वा त्यहाँबाट आवागमन गर्ने यात्रु मात्रै ९० प्रतिशत रहेका छन्।
चांगी विमानस्थलबाट आवागमन गर्ने यात्रु संख्याका आधारमा चीन पाँचौं स्थानमा रहने गरेकोमा गत वर्ष सो संख्यामा पन्ध्र प्रतिशतले वृद्धि भई चीन तेस्रो स्थानमा उक्लेको छ।
यात्रु संख्याका हिसाबले यस विमानस्थलबाट आवागमन गर्नेमा इन्डोनेसिया प्रथम र मलेसिया द्वितीय स्थानमा रहेका छन्।

यात्रु ब्यागेजबाहेक चांगी विमानस्थलबाट सरसामान, कार्गो ओसारपसार परिमाणमा पनि उल्लेखनीय वृद्धि भएको जनाइएको छ। सरसामान कार्गोको आयात, निर्यात तथा ट्रान्ससिपमेन्टमा पनि सन् २०१५ को तुलनामा ६ प्रतिशतले भन्दा बढीले वृद्धि भई सन् २०१६ मा १९ लाख ७० हजार मेट्रिक टन रहेको जनाइएको छ।

यस विमानस्थलले सन् २०१६ का लागि प्रक्षेपण गरेको लक्षभन्दा धेरै बढी प्रगति गरी सुखद रेकर्ड कायम गर्न सफल भएकोमा यसका प्रमुख कार्यकारी अधिकृत ली सिओ हायाङ निकै उत्साहित भएका छन्।

चीन र भारतलगायत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका कतिपय विमान कम्पनीले आफ्ना यात्रुलाई पश्चिमी युरोप र सुदूरपूर्वी एसियाका लामा लामा गन्तव्यतर्फ आवागमन गराउने प्रमुख केन्द्र यही विमानस्थललाई नै रोज्नाले यसको भविष्य अझै उज्ज्वल रहेको प्रमुख कार्यकारी अधिकृत ली बताउँछन्।
अन्तराष्ट्रिय हवाई यातायातसम्बन्धी सन् २०१५ को तथ्यांकलाई आधार मान्दा विश्वका प्रमुख तथा अति व्यस्त विमानस्थलमध्ये सिंगापुरको चांगी विमानस्थल छैठौं स्थानमा पर्छ।

प्रतिक्रिया दिनुहोस्