पूर्वविदेश मन्त्री अलब्राइट मुस्लिम बन्न तयार



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका पूर्वविदेश मन्त्री मेडलिन अलब्राइटले यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मुसलमानका लागि अलग्ग तथ्यांक तयार गरेमा त्यसमा आफूले पनि मुस्लिमका रुपमा नाम दर्ता गराउने बताएकी छिन्।

उनले ट्विटमा भनिन्– ‘म क्याथोलिक भएर हुर्कें बढें। एपिस्कोपेलियन बनें र मलाई पछि थाहा भयो मरो परिवार यहुदी थिए। एक ऐक्यबद्धता देखाउनका लागि मुसलमान भएर आफ्नो नाम दता गर्न तयार छु।’

उनको यो ट्विटलाई लाखौंले लाइक गरेका छन्। उनीसँग चलचित्र अभिनेत्री तथा ‘बिग ब्याङ थ्योरी’का कलाकार मायिम बियालिकले पनि मुसलमानका रुपमा आफ्नो नाम दर्ता गर्न तयार रहेको बताएकी छिन्।

बियालिकले पनि ट्विटरमा लेखेकी छिन्– ‘म यहुदी हुँ, तर आवश्यक परेमा म मुस्लिम भएर नाम दर्ता गर्न तयार छु।’ डोनाल्ड ट्रम्पले शरणार्थीलाई अमेरिका आउन रोक लगाउने कार्यकारी आदेश जारी गर्न सक्ने हल्ला चलिरहेकै बेला अलब्राइटको उक्त ट्विट आएको हो। ट्रम्पले सिरिया, इराक र यमनलगायत ७ देशबाट कसैलाई पनि अमेरिका प्रवेशमा निषेध गर्न सक्ने चर्चा भइरहेको छ। पछिल्लो समयमा अमेरिकी मुसलमानहरूको सम्पूर्ण विवरणसहितको रजिस्ट्रेसनको कुनै चर्चा भने बाहिर आएको छैन। यद्यपि सन् २०१५ मा एउटा अन्तर्वार्तामा आफूले ‘निश्चितरूपमा यसलाई लागू गर्ने’ ट्रम्पले बताएको तर पछि उक्त भनाइबाट आफूलाई टाढा राख्दै आएका थिए।

अलब्राइट चेक मूलकी हुन्। उनी ट्रम्पका कट्टर आलोचक मानिन्छिन्। उनले ट्विटमा भेनेकी छिन्– ‘अमेरिका हरेक धर्म तथा पृष्ठभूमिका मानिसका लागि खुला हुनुपर्छ।’

डोनाल्ड ट्रम्पले चुनाव अभियानमा मुसलमानलाई अमेरिका प्रवेशमा रोक लगाउने बताएका थिए। उनले अमेरिकामा रहेका मस्जिदहरूमा ताला लगाउनुपर्ने वा नियमित निगरानी हुनुपर्नेजस्ता विवादास्पद बयान दिएका थिए। उनका ती अभिव्यक्तिलाई लिएर मुस्लिम जगत्मा ट्रम्पको व्यापक आलोचना भएको थियो।
राष्ट्रपति पद सम्हालेको केही दिनमै आफ्ना विवादास्पद योजनाहरू एकपछि अर्को लागू गर्ने घोषणा गर्दै आइरहेका ट्रम्पबाट मुस्लिम समुदायप्रति लक्षित ती योजना पनि लागू गर्ने अनुमान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्