काश्मिर भीषण हिमपहिरोमा १५ जनाको मृत्यु



श्रीनगर, (एजेन्सी)
भारत अधीनस्थ काश्मिरको हिमालय क्षेत्रमा रहेको एक सैनिक चौकी हिमपहिरोमा परी कम्तीमा ११ सैनिक र ४ सर्वसाधारणको मृत्यु भएको भारतीय सेनाले जानकारी दिएको छ।

हिमालय क्षेत्र काश्मिरलाई विभाजन गर्ने सीमा रेखामा सैनिक तैनाथ गरेको स्थानमा उक्त हिमपहिरो गएको हो। हिम पहिरोमा परेको एउटा घरका दुई बालकसहित ४ जनाको मृत्यु भएको हो। भारतीय सैनिक कर्णेल राजेश कालियाका अनुसार रातभरि आएको भीषण हिमपहिरोमा १८ सैनिक बेपत्ता भएका थिए।

श्रीनगरबाट करिब २ सय किलोमिटर दूरीमा गुरेज इलाकामा सेनाका दुई शिविर हिम स्खलनको चपेटामा परेका थिए। घटनालगत्तै सेनाले राहत तथा उद्धारकार्य थालेका थिए। हिमस्खलन भएको स्थानमा मौसम अत्यन्त खराब रहेको र लगातार हिमपात भइरहेकाले उद्धारकार्यमा कठिनाइ भएको सेनाले बताएका थिए।

उद्धारकर्ताहरुले एक मेजरसहित ६ जनाको जीवित उद्धार गरेका थिए। बुधबार गुरेज र सोनमर्गमा गएको हिमस्खलनका दुई फरक फरक घटनामा सेनाका एक अधिकृत र चार आम नागरिकसहित १५ जनाको मृत्यु भइसकेको र मृतकको संख्या बढ्न सक्ने सेना अधिकारीहरुले जानकारी दिए।

विगतका केही वर्षमा जम्मु–काश्मीरका कयौं इलाकामा हिमस्खलनमा थुप्रै नागरिक तथा कयौं सैनिकले ज्यान गुमाइसकेका छन्। हिमस्खलनको जोखिम रहेको क्षेत्रमा सैनिक शिविर तथा भवन निर्माण भएपछि जनधनको क्षतिको सम्भावना पनि बढ्ने गरेको छ। काश्मिर घाँटीमा विगत ४ दिनदेखि लगातार हिमपात भइरहेको छ। मौसम विभागले बिहीबारसम्म हिमपात जारी रहने पूर्वानुमान गरेको छ। प्रशासनले काश्मिरका थुप्रै इलाकाका लागि हिमस्खलनको चेतावनी जारी गरेको छ। प्रहरी र प्रशासनले विगत तीन दिनमा सयौंलाई हिमपात प्रभावित क्षेत्रबाट सुरक्षित बाहिर निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्