माइकल ज्याक्सनको हत्या भएको ः पुत्री पेरिस



न्युयोर्क, (एजेन्सी)
विश्वको पप सम्राट्का रूपमा चिनिने माइकल ज्याक्सनकी एक्लो छोरी पेरिसले आफ्नो पितालाई मारिएको हुनुपर्ने आफूलाई विश्वास लागेको बताएकी छिन्। रोलिङ स्टोन पत्रिकालाई पहिलो तथा गहन अन्तर्वार्ता दिने क्रममा सन् २००९ को ज्याक्सनको मृत्युलाई सुनियोजित हत्या हुनुपर्नेे बताएकी छिन्।

ज्याक्सनको शक्तिशाली लठ्याउने औषधि प्रोपोफोलको ओभर डोजबाट मृत्यु भएको थियो। पछि उनको डाक्टर कोन¥याड मुर्रेलाई लापरबाहीको कारण हत्या भएको अभियोगमा दोषी पाइएको थियो। तर पेरिसले कथा अझै लामो हुनुपर्ने भनेकी छिन्। उनी भन्छिन्– ‘मेरो बुबाले आफ्नो पछि लाग्नेहरूबारे सुराक छाड्न सक्थे। कुनै दिन मेरो बुबालाई जस्तो तिनीहरूले मलाई पनि मार्न सक्छन्।’

अन्तरवार्तावर्ता ब्रियान हियाटले के तपार्इं आफ्नो पिताको हत्या भएको मान्नुहुन्छ भनी सोधि“दा १८ वर्षीया पेरिसले ‘पक्कै पनि हो’ भन्ने जवाफ दिएकी छिन्। उनले भनिन्– ‘यो स्पष्टै छ। सम्पूर्ण संकेतले हत्यातर्फ नै इसारा गर्दछ। पूरै षड्यन्त्र सिद्धान्त प्रयोग भएको देखिन्छ। सम्पूर्ण वास्तविक प्रशंसक र परिवारका सदस्यलाई यसबारे थाहा छ। धेरै मानिस मेरो बुबा मरेको देख्न चाहन्थे। तिनीहरूलाई अदालतको कठघरामा ल्याउने मेरो कोसिस जारी छ।’

तर उनले यस सम्बन्धमा कसैको पनि नाम तोकेकी छैनन्। उनले डा. कोन¥याड मुर्रेतर्फ पनि संकेत गरेकी छैनन्। सन् २००९ को २५ जुनमा ज्याक्सनको मृत्यु हुँदा पेरिस ११ वर्षकी मात्र थिइन्। उनले रोलिङ स्टोन पत्रिकालाई बताइन्– ‘त्यो दिन मलाई हेरचाह गर्नुहुने महिलाले मेरो बुबाको शवबाट निकालेर मलाई दिनु भएको अफ्रिकी ब्रास्लेट अझै पनि मैले लगाइरहेको छु।’

यो मेरो बुबाजस्तै बास्नादार लाग्छ। उनले किशोरावस्थामा आफूलाई एक अपरिचित व्यक्तिले यौन उत्पीडन गर्ने गरेको पनि खुलासा गरेकी छिन्। साथै उनले आफूलाई डिप्रेसन भएको र सन् २०१३ मा आफूले आत्महत्याको प्रयाससमेत गरेको पनि बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्