वार्ताका लागि नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा



जेरुसेलम (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटवार्ताका लागि अमेरिका निमन्त्रणा गरेका छन् । आइतबार दुई नेताहरु बीच भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो फेब्रुअरीको सुरुमै ह्वाइट हाउस भ्रमण गर्न नेतान्याहुलाई आमन्त्रण गरेको हो ।

उनीहरुबीच नजिकबाट लगातार संवाद जारी राख्ने समझदारी पनि भएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इरान लगायतका क्षेत्रीय तथा साझा चासोका विषयमा समान धारणा बनाउँदै सहकार्य गरगरि अगाडी बढ्ने विषयमा पनि छलफल भएको छ । यसैबीच नेतान्याहुले राष्ट्रपति ट्रम्पसँग नजिक रहेर काम गर्ने चाहना व्यक्त गरेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पले इजरायलले अहिले खेलिरहेको भूमिकाको दह्रो समर्थन गर्दै आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने आश्वासन दिएका छन् ।

ट्रम्पद्वारा विरोध
प्रदर्शनको आलोचना
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गरेका छन् । उनले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गरेको हो ।
ट्रम्पले प्रदर्शनकारी महिलाहरुसँग उनीहरुले आफनो विरोधमा मतदान किन नगरेको भन्ने प्रश्न उठाए । अष्ट्रेलिया, न्युजिल्यान्ड र जापानमा उनी विरुद्ध ठुलो संख्यामा महिला सडकमा ओर्लेका थिए ।

अमेरिकामा हलिवुडका थुप्रै हस्तीहरु सहितको सहभागितामा लाखौं महिलाले उनी विरुद्ध नारावाजी गरेका थिए । ती विरोध प्रदर्शनलाई लिएर ट्रम्पले असन्तुष्टी ब्यक्त गरेका हुन् ।

ुहिजो मैले महिला प्रदर्शन गरिरहेको हेरेँ । आश्चर्य लाग्छ, भर्खरै त चुनाव भएको हो । मत दिने बेला कहाँ थिए यिनीहरु । यी महिलाहरुले मतदान किन नगरेको ?ु ट्रम्पले ट्वीटमा उल्लेख गरेकाछन् ।

निर्वाचन नै नभई आफू सत्तामा पुगेको भान हुने गरि प्रदर्शन भएको ब्यंग गर्दै उनले प्रदर्शनकारीको आलोचना गरे । शनिबार अमेरिकाको राजधानी वासिङ्टन लगायत विभिन्न ठाउँमा महिलाहरुको सक्रियतामा लाखौँ नागरिकले ट्रम्प विरुद्ध प्रदर्शन गरेका थिए ।

उनले ट्विटमा चुनावमा आफ्नो जित भएको संकेत गरेका थिए । यसैबीच ट्विटर युजरहरुले उनको ट्विटमा प्रतिक्रिया दिएका छन् । एकजनाले सन् २०१२ मा बाराक ओबामा राष्टपति चुनावमा विजयी हुँदा उनले नै त्यसको विरोधमा सडकमा ओर्लन आह्वान गरेको स्मरण गराएका छन् ।

सन् २०१२ मा डोनाल्ड ट्रम्पले ट्विट गरेका थिए– हाम्रो देश गम्भिर संकटमा छ । यो चुनाव ठट्टा हो । हामी यसको विरुद्ध वासिंगटनको सडकमा उत्रनु पर्नेछ । हाम्रो देशमा पुरै विभाजन आइसकेको छ ।

केहि समयपछि ट्रम्पले पुन ट्विट गरे– शान्तिपुर्ण विरोध प्रदर्शन लोकतन्त्रको पहिचान हो । यद्यपी म सँधै यसमा सहमत नभएपनि अभिब्यक्तीको अधिकारको म पुरा समर्थन गर्छु ।

सिड्नीको पार्कमा महिलाहरुको प्रदर्शन ‘ट्रम्पले उनीहरुको निजी अंगमा छोएको थियो‘ मुद्दामा केन्द्रित थियो । ट्रम्पले चुनाव प्रचारका क्रममा आफना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई ‘खराब महिला‘को संज्ञा दिएका थिए । मेलबर्नमा ट्रम्पको उक्त बयान विरुद्ध प्रर्दशन केन्द्रित थियो ।

प्रतिक्रिया दिनुहोस्