रुपन्देही ग्याँस विक्रेताको आन्दोलन स्थगित



बुटवल, (नेस)।
ग्याँस उद्योगले विक्रेतालाई दिँदै आएको कमिसन घटाएको बिरोधमा आन्दोलन गर्दै आएका ग्याँस विक्रेताले तत्कालकालागि आन्दोलन स्थगित गरेका छन् ।

नेपाल आयल निगमले ग्याँसको उपभोक्ता मुल्य एक हजार ३ सय पाँच रुपैंया निर्धारण गरेपछि उद्योगले विक्रेतालाई दिँदै आएको कमिसनलाई प्रतिसिलिण्डर ५० रुपैंयाबाट घटाएर ३२ रुपैंयामा झारेका थिए ।

आफूहरुले खाईपाई आएको कमिसन रकम घटाउन नहुने भन्दै विक्रेताले गत पुसको २० गतेदेखि आन्दोलन गर्दै आएका थिए । मगलवार उद्योगीले नेपाल आयल निगममा गरेको अनुरोधबाट १५ दिन भित्रमा उद्योगी तथा विक्रेताको मागमा सुनुवाई गर्ने आश्वासन दिएको र उपभोक्ताको मर्कालाई समेत मध्येनजर गरेर तत्कालकालागि आन्दोलन स्थगित गरिएको ग्याँस विक्रेता संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा ग्याँस विक्रेता संघ रुपन्देहीका अध्यक्ष बसन्त गौचनले १५ दिनभित्रमा आफूहरुको माग सुनुवाई गर्ने प्रतिवद्धता आयल निगम र उद्योगीबाट समेत आएकाले यहि माघको १९ गतेसम्मलाई आफूहरुका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको बताउनु भयो ।

माघको १९ गतेसम्ममा मागमा सुनुवाई नभए त्यसपछि देशभर आन्दोलन संयुक्त गर्ने उद्योगी र विक्रेता बिच सहमति भएको छ । ग्याँस विक्रेता र उद्योगीबिच बुधबार भएको वार्ताबाट तत्कालकालागि आन्दोलन स्थगित गर्ने र १५ दिन भित्रमा माग सुनुवाई नभए संयुक्त संघर्ष गर्न सहमति भएको हो ।

उक्त वार्तामा संघका तर्फबाट संघ रुपन्देहीका अध्यक्ष गौचन, बुटवल नगर महासचिव नारायण खनाल, नवलपरासीका हरिप्रसाद अधिकारी, पाल्पाका राजेन्द्रबहादुर बज्राचार्य र कपिलबस्तुका रामप्रसाद गैरे तथा उद्योगीका तर्फबाट बुटवल ग्याँसका भुपाल श्रेष्ठ, रमेश श्रेष्ठ, रामप्रसाद पाण्डे, सिद्धार्थ ग्याँसका सुशिल नेपाल, क्रिशुलका राकेश शर्मा, आरतीका युवराज सेढाई तथा पञ्चमहालक्ष्मीका बाबुराम पोखरेल र महेश पोखरेल सहभागि हुनुहुन्थ्यो ।

सहमति पछि आयोजित पत्रकार सम्मेलनमा उद्योगीका तर्फबाट भुपाल श्रेष्ठले ग्याँस उद्योग बोटलिङ् प्लान्ट मात्रै भएको र नेपाल आयल निगमले निर्धारण गरेको मुल्यमा खरिद गर्ने, उसैले भनेको मुल्यमा बिक्रि गर्ने र उसैले निर्धारण गरेको कमिसन रकम विक्रेतालाई दिने भएकाले विक्रेताको माग आफूहरुको बहस भन्दा माथि भएकाले संयुक्त रुपमा पहल सुरु गरिएको बताउनु भयो ।
रुपन्देही जिल्लामा मात्रै बुटवल, सिद्धार्थ, स्वस्तिक र आरती गरि ग्याँसका ४ वटा बोटलिङ् प्लान्ट छन् । जिल्लामा मासिक ३ सय ६० विक्रेता मार्फत एक लाख सिलिन्डर खपत हुने विक्रेता संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्