चन्द्रमामा पुग्ने अन्तिम अन्तरिक्षयात्रीको निधन



ह्युस्टन, (एजेन्सी)
अन्तिम पटक चन्द्रमामा पाइला टेक्ने अन्तरिक्षयात्री जिन सर्ननको ८२ वर्षको उमेरमा गतः सोमबार निधन भएको छ। वैज्ञानिक तथा अन्तरिक्षयात्री सर्नन सन् १९७२ मा अमेरिकी हवाई तथा अन्तरिक्ष केन्द्र नासाले प्रक्षेपण गरेको अन्तरिक्ष यान एपोल्लो–१७ बाट चन्द्रयात्राका लागि प्रस्थान गरेका थिए। उनले सोहीबर्ष डिसेम्बर १४ मा चन्द्रमामा पाइला टेकेका थिए।

चन्द्र धरातलमा केही हिँडडुल गरेपछि पृथ्वीमा फर्कने क्रममा चन्द्रभूमिको एक ठाउँको भुइँमा आफ्नी एक मात्र नौ वर्षीया पुत्री टेरेसा डाउन सर्ननको नामको छोटकरी रूप ‘टीडीसी’ कोरेको उनले बताएका थिए। सर्नन एपोलो १७ अभियानका कमान्डर थिए। अहिलेसम्म १२ जना चन्द्रमामा पुगे र तीमध्ये ६ जना मात्र जीवित छन्।

सन् १९३४ मार्च १४ मा सिकागोमा जन्मिएका सर्नन बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका थिए। उनले सन् १९५६ मा २२ वर्षको उमेरमा इन्डियानाको पर्ड्यु युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका थिए। सर्ननको परिवारमा उनकी पत्नी, एक छोरी, दुई सौतेली छोरी र नौ नातिनातिना छन्।

चन्द्रमामा सन् १९६९ मा पाइला टेक्ने प्रथम मानव अन्तरिक्षयात्री निल आम्र्सस्ट्रङको सन् २०१२ मै निधन भएको थियो। निल आम्र्सस्ट्रङ पनि पर्ड्यु विश्वविद्यालकै इलेक्ट्रिकल इन्जिनियरिङ विषयका स्नातक हुन्।

ठूलो खर्च लाग्ने तुलनामा साह्रै न्यून उपलब्धि हुनेलगायत अन्य धेरै थुप्रै कठिनाइ हुने भएकोले अमेरिकाले चन्द्रमामा मानव अभियानलाई सन् १९७२ पश्चात् स्थगित गरेको थियो। विगत केही वर्षदेखि भने अमेरिकाले रुससँग सहकार्य गरी चन्द्रमा तथा अन्य ग्रहहरूको संयुक्त अनुसन्धान, अन्वेषण गर्दै आएको छ। सर्ननपछि अन्य कुनै अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमामा टेक्ने अवसर नमिलेपछि उनी नै चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री बनेका थिए।
बयासी वर्षको उमेरसम्म पनि सर्ननले चन्द्रमाको अध्ययन, अनुसन्धान र यसबारे पछिल्ला समयमा हासिल गरिएका उपलब्धिहरूमा निरन्तर रुचि राख्दै आएको नासाले जनाएको छ। उनले आफू नै चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव नभई यो उपाधि अरू कसैले लिइदेओस भनी जीवनको अन्तिम क्षणसम्म पनि गहिरो अभिलाषा राखेका कुरा उनको पारिवारिक प्रवक्ता जानकारी दिए।

वैज्ञानिक तथा अन्तरिक्ष यात्री सर्ननले ५ सय ६६ घण्टासम्म अन्तरिक्षमा र यस अवधिमध्ये ७३ घण्टाभन्दा बढी समयसम्म चन्द्र धरातलमा व्यतीत गरेर कीर्तिमान कायम गरेका छन्। उनले चन्द्रयात्राका क्रममा भोग्नुपरेका दुखः, कष्ट, आर्जन गरेका अनुभव तथा अन्य धेरै रोमाञ्चक घटनाहरू समेटी छायांकन गरिएको एउटा वृत्तचित्र ‘दि लास्ट म्यान अन दि मून’ सन् २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्