अठार वर्षपछि अपहरित शिशु भेटियो



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको फ्लोरिडाको ज्याक्सनभिल्लेस्थित एउटा अस्पतालबाट जन्मिएको केही समयपछि नै चोरिएकी एक बालिका अठार वर्षभन्दा लामो समयपछि साउथ क्यारोलिनामा जीवितै फेला परेको प्रहरीले शनिबार जनाएको छ। सन् १९९८ को जुलाइमा अपहरण गरिएकी कामियाह मोब्लीलाई सुराकको आधारमा फेला पारिएको हो।

साउथ क्यारोलिनाको वाल्टरवाराको स्थानीय प्रशासनले ५१ वर्षीया ग्लोरिया विलियम्सलाई अपहरणको अभियोग लगाइएको छ। जन्मदर्ताको नाम फेरेर मोब्लीको नाममा रहँदै आएकी ती किशोरीले विलियम्सलाई नै आफ्नी आमा ठान्दै आएको बुझिएको छ।

वास्तविक परिवारलाई उनी फेला परेको खबर दिइसकेको छ। डीएनए परीक्षणबाट उनी विलियम्सकी पुत्री नभएको पुष्टि भइसकेको प्रहरीले जनाएको छ। उनको स्वास्थ राम्रो र सामान्य रहेको बताइएको छ। उनी अपहरित हुँदा प्रहरीले उनको र आशंकित विलियम्सको तस्वीर सार्वजनिक गरेको थियो। विलियम्सलाई शुक्रबार प्रहरीले उनकै निवासबाट गिरफ्तार गरेको थियो।

अहिले युएफ हेल्थ ज्याक्सनभिल्लेको नामले चिनिने युनिभर्सिटी मेकिल सेन्टरबाट विलियम्सले स्वास्थ स्याहारकर्ताको अभिनय गरी केवल आठ दिने शिशुको अपहरण गरेकी थिइन्। उनले बच्ची आमा सानारालाई बच्चीलाई ज्वरो आएको जचाउनुपर्छ भन्दै बच्ची बोकेर बेपत्ता भएकी थिइन्। त्यतिबेला सञ्चार माध्यमले यस घटनालाई निकै महत्त्वका साथ प्रचारप्रसार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्