फिलिपिन्समा १५८ कैदी फरार



फिलिपिन्स, २० पुस ।

फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् ।

सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुनसक्ने बताइएको छ ।

राति ०१ बजेको समयमा करिव १०० जना सशस्त्र लडाकूले जेलमा एक्कासी आक्रमण गरेपछि दुई घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १५८ जना अन्य कैदीलाई उनीहरुले भगाएको जेल प्रशासनले जनाएको छ ।

विद्रोहीले आफ्ना लडाकूलाई रिहा गर्न आक्रमण गरेको हुनसक्ने भएपनि यसबारे अनुसन्धान जारी रहेकोे जेल प्रमुख पिटर जोन बोङ्गटलाई उद्धृत गर्दै एविस–सिविएन टेलिभिजनले जनाएको छ ।

जेलमा एक हजार ५११ जना कैदी रहेकोमा बाँकी कैदी भने भाग्न अस्वीकार गरेका थिए ।

घटनामा एकजना जेलका गार्ड र छ जना विद्रोहीको मृत्यु भएको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्