सिरियामा शुक्रबार बिहानबाट युद्धविराम लागू भयो



बेरुत, १५ पुस । सिरियामा करिब छ वर्ष अगाडि सुरु भएको द्वन्द्व अन्त्यको लागि टर्की र रुसको सहमतिमा सिरियाको सबै क्षेत्रमा लागू हुने भनिएको युद्धविराम शुक्रबार बिहान सबेरैबाट लागू भएको जनाइएको छ ।

यस सम्झौतामा आतङ्ककारी समूह इस्लामिक स्टेटको भने सहभागीता नरहेको र युद्धविराम सम्झौता सिरियाली सरकार र विद्रोहीबीच भएको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले केही घण्टा अगाडी बताउनु भएको छ ।

प्रायः सिरियाली क्षेत्रहरुमा शुक्रबार विहानबाट नै यो युद्धविराम सुरु भएको बताइएको छ । तर सिरियाली मध्य प्रांन्त हामाको क्रिस्चिन सहरनजिकै झडप सुरु भएको छ । सो झडपमा आइएस लडाकू समूहले सरकारीबल माथि आक्रमण गरेको बताइएको छ ।

यस युद्धविराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धविरामलाई निरन्तरता दिने प्रयोजनवश ल्याइएको छ ।

अलेप्पोलगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि यसै महिनाको सुरुमा नै टर्की र रुसको मध्यस्थतामा युद्धविराम गरिएको थियो ।

तर, रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धविराममा अवलम्बन गरिए जस्तै, अहिले पनि आतङ्ककारीविरुद्ध प्रतिकार गर्नेकार्य भने रोकिने छैन ।

यदि यस योजना सफल भएमा, रुस र टर्कीकै पहलमा काजकिस्तानको राजधानी आस्तानामा निकट भविष्यमै हुनगइरहेको सिरियाली सरकार र विपक्षीबीच राजनीतिक सम्झौता हुने बलियो आधारसमेत निर्माण हुने अड्कल गरिएको छ ।

सिरियामा जारी गृहयुद्धको कुरा गर्ने हो भने रुस र टर्की विपरीत पक्षधर हुन् । वर्तमान सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनुुपर्छ भन्ने पक्षमा टर्की रहेको छ, भने रुस र इरान असदका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका रूपमा खडा रहेका छन् ।

तर, गतवर्ष रुसको एउटा युद्धक विमान टर्कीका सेनाले खसाली दिएपछि दुई देशबीच बिग्रन गएको सम्बन्धलाई सुधार गर्न टर्की प्रयासरत छ भने रुसले पनि यसलाई सामान्यीकरण गर्न चासो देखाएको छ ।

यसकै प्रतिफलस्वरूप दुई देशबीच गत ग्रष्म ऋतुतिर सम्पन्न भएको एक समझदारीलाई मान्यता दिँदै रुसले सिरियाली युद्धविराम योजनामा लचकता अपनाएको बताइएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडी गृहयुद्धमा परिणत भयो ।

यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टे्ट पनि दबदबा बढ्दै गयो । जारी यसद्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

लाखाँै व्यक्ति घाइते भएका छन् भने, लाखौँ आफ्ना देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन्। । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्