अफगान उपराष्ट्रपतिविरुद्ध यौन दुव्र्यवहारको आरोप



काबुल, (एजेन्सी) अफगानिस्तानका एकजना वरिष्ठ अधिकारीले उपराष्ट्रपति अब्दुल रसिद दोस्तमको आदेशमा हिंसात्मक ढंगले अपहरण गरी आफूमाथि यौन दुव्र्यवहार गरिएको बुधबार बताएका छन्। अफगानिस्तानको उत्तरमा पर्ने जनरल दोस्तमको गृह प्रान्त जोज्जानका पूर्व गभर्नर अहमद एस्चीले सो आरोप लागाएका हुन्।

उनले उपराष्ट्रपति र अन्य दशजना मानिसले गत महिना पूर्व योद्धा दोस्तमको घरमा पाँच दिन जवर्जस्ती थुनेर दुव्र्यवहार गरिएको बताएका छन्। तर जनरल दोस्तमले उनको सो आरोप अस्विकार गर्दै उनले आफूसँग निहँु खोजेको जनाएका छन्। साथै दोस्तमले एस्चीलाई आफूले नभई राष्ट्रको गुप्तचर निकायले हिरासतमा राखेको स्पष्ट पारेका छन्।

दोस्तमका प्रवक्ताले एक विज्ञप्तिमार्फत भनेका छन्, विपक्षी राजनीतिक समूहलाई आर्थिक सहयोग गरेको र पटकपटक सुरक्षा मामिलामा हात हालेको अभियोगमा अफगान सुरक्षा फौजले नियन्त्रणमा लिएको हो। केही समय केही अज्ञात व्यक्तिहरूले उपराष्ट्रपति विरुद्ध चलखेल गर्न खोजेका थिए। उज्ेवक जातिका योद्धा जनरल दोस्तम विरुद्ध अफगानिस्तानको गृहयुद्धको बेला निकै अन्याय अत्याचार गरेको आरोप लागेको थियो।

उनी सन् २०१४ मा अफगानिस्तानको मिलिजुली सरकारमा प्रवेश गरेका थिए। एस्चीले सार्वजनिक स्थलमा २४ नोभेम्बरमा आयोजित घोडचढी खेलाडीहरूले गोलपोस्टमा मरेको बोका छिराउने बुज्कासी नामक खेलपछि आफु अपहरित भएको र दोस्तमले आफ्नो घाँटीमा खुट्टाले कुल्चेको तथा नाँगो बनाइ दुव्र्यवहार गरिएको बताएका छन्।

सो बुज्कारीमा उनको र दोस्तमको पक्षबीच प्रतिस्पर्धा भएको थियो। उनले अन्त्यमा अफगान सुरक्षा सेवा कार्यालयमा सुपुर्दगी गरिएपछि आफूलाई मुक्त गरिएको बताएका छन्। अफगान राष्ट्रपति असरफ घानीको कार्यालयले यस विषयमा अनुन्धान गरिने प्रतिबद्धता जनाएको छ। युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले पनि यस मामिलामा अनुसन्धान गराउन आवाज उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्