पश्चिम चीनमा शक्तिशाली भूकम्प



बेइजिङ, (एजेन्सी)

पश्चिम चीनमा शुक्रबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। ६ दशमल ७ रिक्टर स्केल मापन गरिएको उक्त भूकम्पको धक्का चीनको स्वायत्त क्षेत्र सिन्जियाङ उइगुरको अक्टो काउन्टीसम्म महसुस गरिएको जनाइएको छ।

भूकम्पका कारण एक जनाको मृत्यु भएको समाचार आएको र भवन तथा रेलवे लाइनलाई पनि नोक्सान पुर्याएको अधिकारीहरूले जानकारी दिएका छन्।

किजिल्सु किरगिज स्वायक्त प्रान्तमा भूकम्पको धक्काबाट एउटा गाउँमा ती व्यक्तिको मृत्यु भएको र उक्त इलाकामा ६ वटा घर भत्केको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ।

स्थानीय प्रशासनले भूकम्पको केन्द्रविन्दु चिसो इलाकामा पर्ने आवादी क्षेत्रको जमिन सतहबाट १० किलोमिटर तल भएको जानकारी दिएको छ। उक्त भूकम्प स्थानीय समयअनुसार १० बजेर २४ मिनेटमा आएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षणले शुरुमा उक्त भूकम्प ६ दशमलव ७ म्याग्निच्युडको भएको तर पछि घटाएर ६ दशमलव ५ रिक्टर स्केलको भएको जानकारी दिएको थियो।

भूकम्पको केन्द्र नजिकको गाउँमा ८० घरमध्ये धेरै वटा भत्केको अधिकारहरूले बताए। संरचना भत्किने क्रममा थुप्रै जनावर पनि मरेको तर कोही पनि घाइते भएको समाचार भने नआएको उनीहरूले बताए।

यसैबीच पाकिस्तानी अधिकारीहरूले भूकम्पको धक्का खैबर पख्तुनख्वा प्रान्तको उत्तरपश्चिम इलाकामा महसुस गरिएको बताएका छन्। तर, भूकम्पबाट कुनै प्रकारको धनजनको क्षति नभएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्