बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं, (नेस) मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गर्नुभएको छ। एसिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उहाँलाई एशिया टप ब्रान्ड मास्टर ग्रान्ड अवार्ड प्रदान गरिएको हो।

बैंकिङ क्षेत्रसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो। समारोहमा विभिन्न देशका महिला उद्यमी तथा पेशा व्यवसायमा सक्रिय व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो।

अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताउनुभयो। ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ।’ अवार्ड ग्रहण गरेपछि श्रेष्ठले भन्नुभयो।

यसअघि पनि उहाँले सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’, मलेसियाबाट प्रदान गरिने २१औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड पनि जित्नुभएको थियो। यसैगरी अमेरिकाको किंग्स विश्वविद्यालयले उहाँलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो।

अवार्ड विजेता श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धक हुनुहुन्छ। भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्