हेटौंडा ।
मकवानपुरको भीमफेदी गाउँपालिका–९, झिरघारीका वासिन्दा अझै पनि अस्थायी टहरोमा बस्न बाध्य छन् । भुकम्पको चार वर्ष बित्दा पनि झिरघारीका वासिन्दा अस्थायी जस्तापाताको टहरोमा बस्न बाध्य भएका हुन् ।
भुकम्पका कारण घर ढलेपछि घर पुनर्निर्माणका लागि भिरालो र जोखिमयुक्त जमिन भएका कारण सरकारले दिएको अनुदानमा घर निर्माण गर्न समस्या भएको झिरघारीका स्थानीय हरि रुम्बा बताउनुहुन्छ ।
त्यहाँ अधिकांश घर जस्ताले छाउने मात्र होइन, बार्नका लागि पनि यसैको प्रयोग गरिएको छ । त्रिभुवन राजपथअन्तर्गत् झिरघारीमा भुकम्पमा परेर तीन जनाको मृत्यु भएको थियो । त्यतिबेला जेनतेन अस्थायी टहरा बनाएका स्थानीयहरु जमिन भासिने डरले अझै पनि पक्की घर बनाउनुको साटो अस्थायी टहरामा बस्न बाध्य भएको स्थानीयले बताएका छन् ।
प्राविधिकको निरीक्षणपछि झिरघारीमा घर पुनर्निर्माणका लागि समस्या भएको बताइएका छ । ‘गाउँका सबै घर भत्किएका छन्, दुम्सीडाँडा चिराचिरा भएर फुटेको छ,’ स्थानीय ईश्वर मुक्तानले बताउनुभयो । दुम्सीडाँडा, अघोर, झिरघारी, कटुसघारीका जमिन भास्सिएपछि ज्यान बचाउन गाउँले अस्थायी बास बनाएको मुक्तानले बताउनुभयो ।
उत्तरी मकवानपुरको चिसो सीमभञ्ज्याङनजिक अस्थायी शिविरमा बसिरहेका भुकम्पपीडितलाई संकट छ । त्यहाँ करिब २ सय ५० केटाकेटी र वृद्धवृद्धा छन् । भुकम्पले जमिन चर्किएर विस्थापित भएका मकवानपुरको साविक नामटार–१ स्थित झिरघारी, दुम्सीडाँडा, कटुसघारी र बसीफाँटका ती पीडित हाल भीमफेदी गाउँपालिका–९, गोलमोडमा अस्थायी टहरामा बस्न थालेको ४ वर्ष नाघेको छ । ती भुकम्प प्रभावितहरु निकै कष्टकररुपमा बाँच्दै आएका हुन् । उनीहरुले हाल बस्दै आएको स्थानमा स्थायी बसोबासको व्यबस्था मिलाउन आग्रह गरेका छन् ।
नामटारका सीताराम मोक्तान वर्षांैदेखि बस्दै आएको गाउँबाट विस्थापित भएर टहराको बासमा हुनुहुन्छ । उहाँले शिविरमा बस्न अत्यन्त गाह्रो भइरहेको बताउनुभयो । टहरामुनि बसेका पीडितलाई चिन्ता बढेको भुकम्पपीडित तथा व्यबस्थापन समिति अध्यक्षसमेत रहनुभएका मोक्तानको भनाइ छ ।
भुकम्पले जमिन चर्किएर विस्थापित भएका नामटार–१, दुम्सीडाँडा घर भएर हाल अस्थायी टहरामा बस्दै आएकी करिब ५६ वर्षीया कान्छीमाया रुम्बालाई पनि यही समस्या छ । ‘परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको छ,’ उहाँले पीडा पोख्नुभयो–४ वर्ष बितिसक्दा पनि सरकारले बासको व्यबस्था गरेको छैन । टहरामुनि बसेर बाँच्न सकिएला जस्तो छैन ।
टहरामा बसेकाहरुलाई बिजुलीको व्यबस्था गर्न पहल गर्दा नमिल्ने कुरा बताएपछि घामपावर प्रालि काठमाडौंबाट सोलार सहयोग गरिएको छ । त्यसले अन्धकारबाट उनीहरु बचेका छन् । सदाबहार चिसो हुने ठाउँ हो दामन सीमभञ्याङ ।
‘चिरा परेको र पहिरो गएको थाकथलोमा बस्नै सकिन्नँ,’ समिति सचिव विश्वदेव रुम्बाले त्यहाँ बस्दै आएकाले निकै पीडा भोग्दा पनि राज्यले सुनुवाइ नगरेको गुनासो गर्नुभयो । उहाँका अनुसार पीडितले थाकथलोबाटै भुकम्पले ढलेका घरमा काठपात ल्याएर गोलमोड, सिमथलीमा टहरा बनाएका हुन् ।
नामटारमा वस्ती जोखिमपूर्ण रहेको विज्ञहरुको प्रतिवेदनका आधारमा उनीहरु सर्वदलीय राजनीतिक र झिरघारी सामुदायिक बनको सहमतिमा बनकै उक्त क्षेत्रमा बस्दै आएका छन् । वस्ती संरक्षण समिति जिल्ला अध्यक्ष कमलचन्द्र सुमनले पीडितको अधिकारका लागि आफूहरु क्रियाशील रहने बताउनुभयो ।
प्रतिक्रिया