काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि नेपालको यातायात प्रणालीमा आमूल परिवर्तन आउने बताउनुभएको छ। राष्ट्रिय गौरवको यस आयोजनाले राजधानी काठमाडौं र तराई–मधेशबीचको दूरी घटाउनुका साथै आर्थिक, सामाजिक रूपान्तरण र राष्ट्रिय एकता सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उहाँले उल्लेख गर्नुभयो।

महादेवटार सुरुङको ब्रेकथ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्नुभयो। उहाँले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै नेपाली सेनाले विकास निर्माणका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो।
‘विशेषगरी विकट भौगोलिक अवस्था, जटिल भूगर्भिक बनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि सामूहिक दक्षता, कार्यकुशलता र समर्पण प्रदर्शन गर्दै आएको छ,’ उहाँले भन्नुभयो।
राष्ट्रपति पौडेलले द्रुतमार्गको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माणसम्म नेपाली सेना अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो। राजधानी काठमाडौंलाई देशका विभिन्न क्षेत्रसँग जोड्ने गरी आधुनिक प्रविधिमा आधारित ७१ किलोमिटर लामो द्रुतमार्ग निर्माण सम्पन्न भएपछि देशको यातायात प्रणालीमा ठूलो परिवर्तन आउने उहाँको विश्वास थियो।







द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेखनीय रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उहाँले बताउनुभयो। यसले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा प्रमुख भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो।
राष्ट्रपति पौडेलले यस आयोजनाको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभयो। राजधानी काठमाडौं र तराई–मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।
त्यसैगरी पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र सन्तुलित विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो।
नेपाल सरकार र नेपाली सेना आयोजना समयमै सम्पन्न गर्न दृढ रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। आयोजनाको जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सहयोग गर्न सम्बन्धित सबै निकाय, निर्माण व्यवसायी तथा सरोकारवालासँग उहाँले आग्रह गर्नुभयो।
देशकै पहिलो द्रुतमार्ग निर्माणका क्रममा विभिन्न चुनौती रहे पनि नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगति सन्तोषजनक रहेको उहाँले बताउनुभयो। आयोजनाको स्थलगत अवलोकनबाट यसको सफल कार्यान्वयनप्रति आफू विश्वस्त भएको उल्लेख गर्दै उहाँले यसले नेपाली सेनाको क्षमता, व्यावसायिकता, दृढ इच्छाशक्ति र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो।
अन्त्यमा राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी तथा आयोजनामा संलग्न सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले निर्धारित समयभित्रै आयोजना सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै निर्माण कार्यमा संलग्न सबैको सफलताको कामना गर्नुभयो।











प्रतिक्रिया