गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला


काठमाडौं । 

गुल्मीमा कार्यरत ५२ वर्षीय प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए।

सहकर्मीले ढोका खोलेर हेर्दा ओछ्यानमै अचेत अवस्थामा फेला परेका उनलाई तत्काल जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो। चिकित्सकले बिहान ११ः०५ बजे मृत घोषणा गरेका थिए।

घटनाबारे मृतकका दाजुले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन्। प्रारम्भिक अनुसन्धान तथा शव परीक्षण प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

केसीको दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित दुन्द्राघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।