क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको अनुसन्धान प्रतिष्ठान बनाउन चीनसँग अध्यक्ष दाहालको आग्रह


काठमाडौं ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चीन सरकारसँग सहयोगको आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘नमस्कार, मेरो चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शन कार्यक्रममा अध्यक्ष दाहालले अस्पतालको स्तरोन्नति, आधुनिक चिकित्सा प्रविधिको विस्तार, विशेषज्ञ जनशक्ति उत्पादन तथा शैक्षिक अनुसन्धानका लागि चीनसँगको सहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल–चीन मित्रता र स्वास्थ्य सहकार्यको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरे। सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच भएको समझदारीअनुसार चीनको सहयोगमा सन् १९९९ मा स्थापना भएको अस्पतालले नेपालको क्यान्सर उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनले बताए।

सुरुमा एक सय शय्याबाट सञ्चालनमा आएको अस्पताल हाल पाँच सय शय्यामा विस्तार भएको उल्लेख गर्दै दाहालले चिनियाँ चिकित्सक तथा स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय रहेको बताए। उनका अनुसार हालसम्म २९९ चिनियाँ स्वास्थ्यकर्मीले नेपालमा सेवा प्रदान गरिसकेका छन् भने अहिले १७औँ चिनियाँ चिकित्सा टोली कार्यरत छ।

अध्यक्ष दाहालले चीनको सहयोग भवन निर्माण र उपकरण उपलब्ध गराउने कार्यमा मात्र सीमित नरही नेपाली स्वास्थ्यकर्मीको क्षमता विकास, आधुनिक उपचार प्रविधि हस्तान्तरण तथा चिकित्सा अनुसन्धानमा समेत महत्वपूर्ण रहेको बताए।

उनले स्वास्थ्य सेवामा मानवीय संवेदनाको महत्व औँल्याउँदै भने, “मानवीय सेवाको कुनै सीमा हुँदैन। पीडामा परेका मानिसको जीवनमा आशा र खुसी फर्काउनु नै चिकित्सकीय सेवाको सबैभन्दा ठूलो उपलब्धि हो।”

करिब १२ मिनेट लामो वृत्तचित्रले नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवाभाव, समर्पण र नेपाली बिरामीसँगको आत्मीय सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै उनले प्रशंसा गरे। दाहालले २०७२ सालको महाभूकम्प, कोभिड–१९ महामारी तथा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीलगायत विपद्का समयमा चीनले उपलब्ध गराएको उद्धार, राहत तथा स्वास्थ्य सामग्री सहयोगको पनि स्मरण गरे।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले बाढीपहिरो तथा मनसुनजन्य विपद्बाट प्रभावित प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिमा चीन सरकारसँग सहयोगको अपेक्षा व्यक्त गरे।

उनका अनुसार सन् १९९९ देखि चीनको हपेई प्रान्तले नेपालमा चिकित्सा टोली पठाउँदै आएको छ। हालसम्म १७ टोलीमार्फत २९९ चिनियाँ स्वास्थ्यकर्मी नेपाल आएका छन्। अहिले १७औँ टोलीका १७ स्वास्थ्यकर्मी विभिन्न १२ विशेषज्ञता क्षेत्रमा सेवा प्रदान गरिरहेका छन्।उनले सन् २०१६ देखि तिब्बती तथा आधुनिक चिकित्सा पद्धतिसम्बन्धी संयुक्त निःशुल्क स्वास्थ्य शिविरमार्फत आठ हजारभन्दा बढी नेपाली लाभान्वित भएको जानकारी दिए।

कार्यक्रममा चिनियाँ चिकित्सा सहायता टोलीका प्रतिनिधिले नेपालमा सेवा प्रदान गर्दाका अनुभव सुनाउँदै एक वर्षमै पाँच सयभन्दा बढी नेपाली स्वास्थ्यकर्मीलाई विभिन्न चिकित्सा प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको बताए। चिनियाँ चिकित्सकहरूले नेपाली स्वास्थ्यकर्मीसँगको सहकार्यमा करिब १० नयाँ चिकित्सा प्रविधि हस्तान्तरण गरेको तथा दुर्गम र ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारीसमेत दिइयो।

एक चिनियाँ चिकित्सकले प्युठानकी लिम्फोमाबाट पीडित युवतीको उपचार अनुभव सुनाउँदै नेपाली र चिनियाँ चिकित्सकको संयुक्त प्रयासबाट सफल उपचार सम्भव भएको बताए। चार चरणको केमोथेरापीपछि बिरामीकोपेटभित्र रहेको ट्युमर हराएको अनुभव उनले सुनाए।

कार्यक्रममा भिडियो सन्देशमार्फत चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनका प्रधानसम्पादक तथा एसियाली र अफ्रिकी भाषा कार्यक्रम केन्द्रका निर्देशक आन सियाओयुले वृत्तचित्रले नेपाल–चीन स्वास्थ्य सहकार्यको मानवीय पक्ष उजागर गरेको बताए।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको संयुक्त पहलमा निर्माण गरिएको ‘नमस्कार, मेरो चिनियाँ डाक्टर’ वृत्तचित्रमा नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवा, संघर्ष, समर्पण र नेपाली बिरामीसँगको आत्मीय सम्बन्धलाई समेटिएको छ।

वृत्तचित्रमा क्यान्सरलगायत जटिल रोगको उपचार, नेपाली स्वास्थ्यकर्मीलाई आधुनिक प्रविधिको तालिम, दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा उपचारपछि बिरामीको जीवनमा आएको सकारात्मक परिवर्तन प्रस्तुत गरिएको छ।

कार्यक्रम चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको आयोजनामा तथा चाइना मिडिया ग्रुपको एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीको संयोजनमा सम्पन्न भएको हो।

कार्यक्रमका वक्ताहरूले नेपाल–चीनबीचको परम्परागत मित्रतालाई स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, अनुसन्धान, प्रविधि हस्तान्तरण र मानवीय सहयोगमार्फत अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।