चिरञ्जीवी बाजे हरिवंश र २ पुस्ताको सम्बन्ध


ब्लकबस्टर फिल्म परानका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ फिल्म चिरञ्जीवी भवः मा समावेश जाले रुमाल बोलको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

रामचन्द्र काफ्ले, बाबुल गिरी र रचना रिमालको स्वर, दीपकप्रसाद आचार्य र बाबुल गिरीको संगीत तथा दीपकप्रसाद आचार्यको शब्दरचना रहेको लोकलयमा आधारित डान्सिङ शैलीको गीतमा एक युवक र युवतीबीचको दोहोरी प्रस्तुत गरिएको छ। रूप र सौन्दर्यबाट एकअर्काप्रति आकर्षित भएका युवक र युवतीले आफ्नो सुन्दरतालाई प्रेमको सुरुआती बिन्दु बनाएका छन्। मौलिक शब्द, टिपिकल लोकभाका र सवाल–जवाफ शैलीले गीतलाई आकर्षक बनाएको छ।

गीतको भिडियो विवाहको सेटअपमा तयार पारिएको छ। आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको परिवेशमा परिवारका सदस्यले गर्ने रमाइलो भिडियोमा समेटिएको छ। फिल्मका अधिकांश कलाकार भिडियोमा देखिएका छन्। भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्। गीतको अन्तिम दृश्यमा हुने घटनाले कथाले कुन मोड लिन्छ भन्ने कौतूहलसमेत सिर्जना गरेको छ।

फिल्मको फस्ट लुकका रूपमा दुई पोस्टरसमेत सार्वजनिक गरिएको छ। पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी प्रस्तुत छन्। एउटा पोस्टरमा गम्भीर मुद्रामा देखिएका हरिवंशसँगै आशीर्वाद र प्रशंसा हाँसिरहेका छन्। अर्को पोस्टरमा हरिवंश र आशीर्वाद मात्रै छन्। सुकिलो दौरा सुरुवाल र ज्वारीकोटमा रवाफिलो देखिएका हरिवंशले क्याजुअल पहिरनमा रहेका आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य पोस्टरमा छ। फिल्ममा हरिवंश चिरञ्जीवी बाजेको चरित्रमा देखिंदैछन्।

सोसल ड्रामा चिरञ्जीवी भवः ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा उमेशकुमार बराल र चिरन केसीद्धारा निर्माणाधिन फिल्म माघ १ गते रिलीजमा आउने छ। हरिवंश आचार्य, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझी, करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला कक्रोज, गीता अधिकारी, सुस्मिता कुँबरलगायत कलाकारले अभिनय गरेको ब्लकबस्टर फिल्म परानका निर्देशन गरेका दीपकप्रसाद आचार्यको यो दोस्रो फिल्म हो।

कुमार कट्टेल जिग्री ब्रो पनि दीपकप्रसाद आचार्यस“गै फिल्ममा जोडिएका छन्। कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका हुन्। कुमार कट्टेलको कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखन गरेका छन्। फिल्ममा दीपक आचार्य, हर्क साउद र रञ्जित गजमेरको गीत रचना, बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलको संगीत, गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन, शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ। फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता रहेका छन्।