–अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइने पर्वको तयारी अन्तिम चरणमा
–काठमाडौं उपत्यकाका १७ स्थानमा छठघाट व्यवस्थापन
काठमाडौं।
सूर्यदेव र छठी माताको श्रद्धा तथा भक्तिपूर्वक आराधना गरी मनाइने हिन्दू धर्मावलम्बीको महान् पर्व छठको रौनक देशभर फैलिएको छ । विशेष गरी, तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा पनि उत्तिकै उत्साहका साथ मनाउन थालिएको छ ।
छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिएको बाबा गोरखनाथ पञ्चाङ्गका पञ्चाङ्गकार श्रीकेश कौशिक बताउनुहुन्छ । चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नु हो । छठ पर्वका अवसरमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर कठोर व्रत बस्दै सूर्यदेवको उपासना गर्छन् । परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइने गरिन्छ ।
काठमाडौंमा पनि छठ पर्व मनाउनेहरूको सङ्ख्या वर्षेनि बढ्दै गएको छ । यस वर्ष उपत्यकाका विभिन्न १७ स्थानमा छठघाट निर्माण, सरसफाइ, बत्ती तथा अन्य आवश्यक व्यवस्थापनको काम गरिएको छ । पशुपतिनाथ क्षेत्रअन्तर्गत गौरीघाट र गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, टंकेश्वर, बल्खु, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारालगायत स्थानमा व्रतालुका लागि पूजा गर्ने व्यवस्था मिलाइएको छ ।
गौरीघाटमा मात्रै सयौं व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण गरिएको छ । यस वर्ष गौरीघाट–गुह्येश्वरी क्षेत्रमा ६ सय ७५ पूजास्थल तयार गरिएको छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताउनुभयो । नदीकिनार सफा गर्ने, पाल टाँग्ने, बत्ती जडान गर्ने र पूजाका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम गरिएको छ । ३० वटा घाट भने निःशुल्क दिइने समितिका उपाध्यक्ष राजकुमार पोद्दार बताउनुहुन्छ ।
काठमाडौंमा छठ मनाउने परम्परा विस्तार हुँदै जाँदा तराई–मधेसका बासिन्दासँगै अन्य समुदायको सहभागितासमेत बढ्दै गएको छ । राजधानीमा बढ्दो जनसहभागिताले छठ अब तराई–मधेसको सीमाभन्दा बाहिर निस्केर राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई बताउनुहुन्छ ।
‘ज्योतिषचक्रमा सूर्यलाई उच्च स्थानमा राखेको छ । ‘आरोग्यं भास्करादिच्छेत्’ भनेर काम्य उपासनामा आरोग्यमय जीवनको कामना गर्नेले सूर्यको उपासना गर्नुपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको पाइन्छ’, पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान सदस्य–सचिव आचार्य लक्ष्मण पन्थी भन्नुहुन्छ– ‘वेदमा ‘सूर्य आत्मा जगतस्तस्थुषश्च’ भनेर सूर्यलाई चराचर जगत्कै आत्मस्वरूप मानिएकाले सूर्यको पूजा–उपासनाले हितकारी छ ।’
यस वर्ष शनिबार खरना विधि गरिएको छ भने आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिनेछ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
कसरी मनाइन्छ छठ ?
छठ पर्वको पहिलो दिन नहाय–खाय विधिबाट पर्व सुरू हुन्छ । दोस्रो दिन खरना मनाइन्छ । यस दिन व्रतालुले दिनभर निराहार बसेर साँझ पूजा गरी खीरलगायत प्रसाद ग्रहण गर्छन् । तेस्रो दिन अस्ताउँदो सूर्यलाई नदी तथा जलाशयको किनारमा उभिएर अघ्र्य अर्पण गर्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुने पण्डित भोजराज लामिछानेले बताउनुभयो ।
छठमा ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवल, केरा तथा अन्य शुद्ध प्रसादको विशेष महत्त्व छ । व्रतालुहरूले शुद्धता, संयम र अनुशासनलाई विशेष ध्यान दिँदै पूजा गर्ने उहाँको भनाइ छ । जातीय तथा सामुदायिक सद्भावको सन्देश दिने यस पर्वमा परिवारका सदस्य तथा आफन्तजनको सामूहिक सहभागिता रहने गरेको छ ।
प्रकृति र सूर्यप्रति कृतज्ञता व्यक्त गर्ने विशिष्ट पर्वका रूपमा रहेको छठले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक सद्भावलाई समेत बलियो बनाउँदै लगेको छ ।
मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौंलगायत पहाडी क्षेत्रमा मनाउन थालिएको थियो । २०४६ सालदेखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिने गरेको छ ।











प्रतिक्रिया