–मंसिर २ र ३ गते काठमाडौँमा हुने भेलामा ओली भण्डारीसहित शीर्ष नेताको सम्बोधन
–आगामी निर्वाचनको रणनीति र पार्टी पुनर्गठनको बहस प्रमुख एजेन्डा
काठमाडौँ।
पार्टी नेतृत्वप्रति बढ्दो असन्तुष्टि, आन्तरिक गुटबन्दी र संगठनात्मक शिथिलताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित मंसिर २ र ३ गते काठमाडौँमा दुईदिने राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीमाथि प्रश्न उठ्दै गएको र नेतृत्व परिवर्तन तथा पार्टी पुनर्गठनको आवाज बलियो बन्दै गएको अवस्थामा आयोजना हुन लागेको उक्त भेलालाई एमालेको आगामी राजनीतिक यात्राका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
पार्टीभित्र देखिएको असन्तुष्टि व्यवस्थापन गर्दै संगठनलाई पुनः सक्रिय बनाउने, नेतृत्व र कार्यकर्ताबीच बढ्दै गएको दूरी घटाउने तथा आगामी निर्वाचनका लागि साझा रणनीति तय गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको बताइएको छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
विशेषगरी जेनजी आन्दोलनपछि पार्टीभित्र देखिएको वैचारिक अन्योल, नेतृत्वप्रतिको असन्तुष्टि र संगठनात्मक विचलनले एमालेको आन्तरिक राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ । अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर पार्टीकै विभिन्न तहबाट आलोचना हुन थालेपछि नेतृत्व परिवर्तन र संगठन पुनर्गठनको मागसमेत उठेको छ । यसले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी नेतृत्वको विषयलाई थप संवेदनशील बनाएको छ ।
आठ महिनाअघि सम्पन्न संसदीय निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा व्यहोरेपछि एमालेभित्र नेतृत्वको कार्यशैली, निर्वाचन रणनीति र संगठन सञ्चालन पद्धतिमाथि प्रश्न उठ्दै आएको छ । निर्वाचन परिणामको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवाज एकातिर उठिरहेको छ भने अर्कोतर्फ वर्तमान नेतृत्वकै निरन्तरतामा संगठन सुदृढीकरण गर्नुपर्ने धारणा पनि रहेको छ ।
यस्तो परिस्थितिमा आयोजना हुन लागेको राष्ट्रिय भेलाले पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्न र विभाजनको जोखिम न्यूनीकरण गर्न कस्तो भूमिका खेल्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
वडा र पालिका अधिवेशनअघि विवाद अन्त्य गर्ने प्रयास
भेला आयोजक समितिका संयोजक भानुभक्त ढकालका अनुसार आगामी मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशनलाई विवादरहित बनाउनु राष्ट्रिय भेलाको प्रमुख उद्देश्य हो । पार्टीका तल्ला कमिटीसम्म देखिन सक्ने गुटगत प्रतिस्पर्धा, नेतृत्व चयनसम्बन्धी विवाद र आन्तरिक असमझदारीलाई समयमै सम्बोधन गर्न भेला महत्वपूर्ण हुने आयोजकको विश्वास छ ।
ढकालका अनुसार अधिवेशनका क्रममा पार्टीभित्र कुनै प्रकारको विवाद तथा गुटगत राजनीति नहोस् भन्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । पार्टीका सबै तहमा एकताको सन्देश पु¥याउँदै संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने तयारीसमेत गरिएको छ । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्वेटमा आयोजना हुने भेलामा देशभरबाट करिब तीन हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
भेलामा केन्द्रीय कमिटीका सदस्य तथा पदाधिकारी, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्य तथा प्रदेशसभा सदस्यहरूको सहभागिता रहनेछ । त्यसैगरी स्थानीय तहमा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा सदस्य र पार्टीका केन्द्रीय आयोगका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई समेत सहभागी गराइने ढकालले जानकारी दिनुभयो ।
देशभरका विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका जनप्रतिनिधि र पार्टी पदाधिकारीहरूको व्यापक उपस्थितिले संगठनात्मक समस्याको पहिचान तथा आगामी कार्यदिशा निर्धारणमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
ओली र भण्डारी एउटै मञ्चमा
राष्ट्रिय भेलाको अर्को महत्वपूर्ण पक्ष पार्टीका शीर्ष नेताहरूको संयुक्त उपस्थिति र सम्बोधन हुनेछ । पार्टीभित्र नेतृत्वको विषयलाई लिएर विभिन्न धारणा सार्वजनिक भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्या भण्डारी एउटै मञ्चबाट कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । भेलालाई अध्यक्ष ओली, वरिष्ठ नेता भण्डारी, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यतालिका रहेको ढकालले जानकारी दिनुभयो ।
शीर्ष नेताहरूको संयुक्त उपस्थितिमार्फत पार्टी एकताबद्ध रहेको सन्देश देशभर प्रवाह गर्ने तयारी गरिएको छ । विशेषगरी नेतृत्वको विकल्प र पार्टी पुनर्गठनको बहस चलिरहेका बेला ओली र भण्डारीको सम्बोधनलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । भेलाले नेतृत्व तहमा देखिएको मतभिन्नतालाई कम गर्न र कार्यकर्तामा उत्पन्न अन्योल हटाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यद्यपि शीर्ष नेताहरूको संयुक्त उपस्थितिले मात्रै पार्टीभित्रका असन्तुष्टि र संगठनात्मक समस्या समाधान हुने वा नहुने भन्ने विषय भने भेलापछिको राजनीतिक व्यवहारमा निर्भर रहनेछ ।
बक्स
तीन कार्यपत्रमार्फत आगामी राजनीतिक मार्गचित्र
राष्ट्रिय भेलामा पार्टीको भावी कार्यदिशा, विगतका उपलब्धि र आगामी निर्वाचनको रणनीतिसम्बन्धी तीनवटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
पार्टी अध्यक्ष ओलीले एमालेको आगामी राजनीतिक कार्यदिशा र संगठन सञ्चालनको मार्गचित्रसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । उहाँको कार्यपत्रमा बदलिँदो राजनीतिक परिस्थिति, पार्टीको वर्तमान अवस्था र भावी रणनीतिका विषय समेटिने अपेक्षा गरिएको छ ।
त्यसैगरी उपाध्यक्ष विष्णु पौडेलले एमाले सरकारमा सहभागी हुँदा हासिल गरेका उपलब्धि तथा त्यसको राजनीतिक महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । महासचिव शंकर पोखरेलले भने आगामी स्थानीय तह निर्वाचनको तयारी, संगठन परिचालन र चुनावी कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
ती कार्यपत्रमाथिको छलफलले पार्टीको भावी राजनीतिक दिशा र निर्वाचन तयारीलाई स्पष्ट पार्ने अपेक्षा गरिएक पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज, संगठन पुनर्गठनको दबाब र निर्वाचनमा कमजोर प्रदर्शनको समीक्षाबीच हुन लागेको यो भेलालाई एमालेका लागि महत्वपूर्ण राजनीतिक परीक्षणका रूपमा समेत हेरिएको छ ।
भेलाले असन्तुष्ट पक्षलाई विश्वासमा लिँदै साझा राजनीतिक दृष्टिकोण निर्माण गर्न सके एमालेको संगठनात्मक पुनरुत्थानमा सहयोग पुग्न सक्छ । तर, नेतृत्वशैली र आन्तरिक लोकतन्त्रका विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्न नसके पार्टीभित्रको असन्तुष्टि पुनः सतहमा आउने सम्भावना पनि उत्तिकै छ ।
यस अर्थमा मंसिर २ र ३ गतेको राष्ट्रिय भेला एमालेका लागि केवल नियमित संगठनात्मक कार्यक्रम नभई आन्तरिक एकता, नेतृत्वको स्वीकार्यता र आगामी राजनीतिक भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर बन्ने देखिएको छ ।











प्रतिक्रिया