जलवायु वित्त र स्वच्छ ऊर्जामा लगानी बढाउन गुटेरेसको आह्वान


अन्ताल्या ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो जलवायु सङ्कट नियन्त्रणका लागि जीवाश्म इन्धनको प्रयोग घटाउँदै नवीकरणीय ऊर्जाको विकास र जलवायु वित्तमा लगानी बढाउन विश्व नेताहरूलाई आग्रह गरेका छन् ।

टर्किएको अन्ताल्यामा आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनमा बोल्दै उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन उच्च विन्दुमा पुगेको र जलवायु परिवर्तनका कारण जनजीवन तथा अर्थतन्त्रमा गम्भीर असर परिरहेको बताए ।

उनले सन् २०३५ सम्म नवीकरणीय ऊर्जा उत्पादन क्षमता तीन गुणाले बढाउन तथा प्रदूषण नियन्त्रण नगरिएको कोइलामा आधारित विद्युत् उत्पादन ७५ प्रतिशतले घटाउनुपर्ने आवश्यकता औँल्याए । साथै, नयाँ कोइला परियोजना र जलवायु लक्ष्यमा बाधक बन्ने तेल तथा ग्यासका पूर्वाधार निर्माण रोक्न पनि उनले आग्रह गरे ।

गुटेरेसले जलवायु सङ्कटको असर बढी भोगिरहेका विकासशील राष्ट्रलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने बताए । विकसित देशहरूले सन् २०३५ सम्म वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउन नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।

जीवाश्म इन्धनबाट नाफा कमाउने कम्पनीले जलवायु क्षतिको जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उनले प्रदूषण गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्ने बताए ।

उनले जलवायु सङ्कट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य, स्वच्छ ऊर्जा प्रवर्द्धन र प्रभावित समुदायको संरक्षणलाई प्राथमिकता दिन विश्व नेताहरूलाई आह्वान गरे ।