माग पूरा गर्न सरकारलाई डा. केसीले दिए थप दुई दिन


काठमाडौं ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, जवाफदेहिता, सुशासन तथा सामाजिक न्यायका माग सम्बोधन गर्न सरकारलाई दिएको अल्टिमेटमको अवधि डा. गोविन्द केसीले दुई दिन थपेका छन्।

डा. केसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दसैँ बिदाका कारण सरकारले माग सम्बोधन गर्न पर्याप्त समय नपाएको भन्दै अल्टिमेटमको अवधि थप गरिएको जनाएका हुन्।

उनले २०८३ कात्तिक २ गते सरकारलाई सात दिनको अल्टिमेटम दिएका थिए। उक्त अवधिमा दसैँको बिदा परेकाले माग सम्बोधनका लागि सरकारलाई थप दुई दिनको समय दिएको विज्ञप्तिमा उल्लेख छ।

थपिएको अवधिभित्र पनि माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने डा. केसीले चेतावनी दिएका छन्।

माग सम्बोधन नगरेर आन्दोलनको अवस्था सिर्जना भए त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, जवाफदेहिता, सुशासन तथा सामाजिक न्यायका पक्षमा उठाइएका मागप्रति सरकारको बेवास्ता र प्रहार भएको आरोप लगाउँदै डा. केसीले आन्दोलनको चेतावनी दिएका हुन्।

सरकारलाई माग पूरा गर्न थप समय दिँदै उनले अब पनि माग सम्बोधन नभए सत्याग्रहसहितका कार्यक्रम अघि बढाउने स्पष्ट पारेका छन्।

डा. केसीले २०८३ कात्तिक ९ गते काठमाडौंमा जारी गरेको विज्ञप्तिमार्फत सरकारलाई यस्तो चेतावनी दिएका हुन्।