काठमाडौं ।
नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ ।
सडक र पुल भत्किएर आवागमन ठप्प भएका तथा प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धारमा चुनौती थपिएका क्षेत्रमा प्रविधिको उपयोग गर्दै सेनाले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाएको जनाएको हो ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार नागरिकको जीवन रक्षा र सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सेनाले खोज, उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रिय भूमिका निर्वाह गरेको छ ।
रसुवामा बाढीपछि प्रभावित क्षेत्रको अवस्थाबारे स्मरण गराउँदै सेनाले लेखमार्फत सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको छ ।’
समर्पणले नागरिकमा भरोसा जगाएको छ
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाको काम जारी रहेकै बेला असोजमा भएको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम थप बढाएको थियो । बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा जनधनको क्षति भएको थियो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्याउँदा स्थानीय बासिन्दा र पर्यटकको आवागमनसमेत प्रभावित भएको थियो ।
त्यस्तो कठिन परिस्थितिमा नेपाली सेनाले नागरिकको जीवन रक्षा र सुरक्षालाई प्राथमिकतामा राख्दै तत्काल खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रियता देखाएको जनाएको छ ।
प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरी विपद् प्रतिकार्यलाई तीव्रता दिएको थियो । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याइएको थियो ।
सडक अवरुद्ध भएका स्थानमा उद्धार तथा सडक पुनः सञ्चालनका लागि प्रयोग गरिने मेसिनमा इन्धन आपूर्ति गर्न ड्रोनको प्रयोगसमेत गरिएको थियो । बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गरेर विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने सेनाको तत्परता र व्यावसायिक क्षमता यसबाट प्रतिबिम्बित भएको विवरणमा उल्लेख छ ।
यसै क्रममा मनाङको चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याउन सेना सक्रिय रहेको थियो । अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्नुका साथै बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गराउन पनि सेनाले योगदान पुर्याएको थियो ।
त्यस्तै, नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका पर्यटकको शव हवाई माध्यमबाट उद्धार गर्ने कार्यमा सहयोग गरेर सेनाले मानवीय दायित्व निर्वाह गरेको थियो ।
असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारमा पनि सेना तत्काल परिचालित भएको थियो । एमआई–१७ सहित चारवटा हेलिकप्टर तथा स्थलमार्गबाट परिचालित उद्धार टोलीले विभिन्न प्रभावित क्षेत्रबाट विदेशी नागरिकसहित एक हजार १०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।
बाढी प्रभावित स्थानीयका घरमा डुबानमा परेका सामान सुरक्षित रूपमा निकाल्न सहयोग गर्नुका साथै सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको थियो ।
बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी आवागमन पुनः सञ्चालन गर्ने तयारी अघि बढाउनु पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सेनाले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकामध्ये एक रहेको विवरणमा उल्लेख छ ।
यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको सडक सुचारु गर्न सेनाले देविघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोबृज जडान गरी सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई पुनः जोड्न सहयोग गरेको थियो ।
सेनाका यी प्रयास खोज, उद्धार र राहत वितरणमा मात्र सीमित नरहेको विवरणमा उल्लेख छ । विपद्मा परेका नागरिकको जीवन रक्षा, आधारभूत आवश्यकताको परिपूर्ति, सुरक्षित आवागमनको व्यवस्था र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्नु पनि सेनाको महत्त्वपूर्ण जिम्मेवारी रहेको जनाइएको छ ।
जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले नागरिकको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धता व्यवहारमै देखाएको सेनाको भनाइ छ ।
विपद् व्यवस्थापन सबै सम्बद्ध निकायको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी हुन सक्ने सेनाले जनाएको छ । नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय तह तथा समुदायबीच स्थापित समन्वय र सहकार्यले खोज, उद्धार, राहत वितरण र तत्कालको पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाएको विवरणमा उल्लेख छ ।
अन्य सुरक्षा निकाय तथा सम्बद्ध सरोकारवालाको एकीकृत प्रयासले विपद् प्रभावित नागरिकलाई समयमै सहायता पुर्याउन र जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान दिएको सेनाले जनाएको छ । भौगोलिक अवस्था, सीमित एयर स्पेस, थुनिएका टनेल र पूर्ण रूपमा बन्द स्थलमार्गजस्ता चुनौतीका बाबजुद विपद्पछिको हवाई, जमिनी तथा टनेल खोज र उद्धार कार्य त्रुटिरहित ढङ्गले सम्पन्न गर्न सेना सफल भएको विवरणमा उल्लेख छ ।
प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित हुँदा उनीहरूको जीवन रक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको सेनाले जनाएको छ । उक्त दायित्व निर्वाहका क्रममा सेनाले देखाउँदै आएको तत्परता, मानवीय संवेदनशीलता र समर्पणले सङ्कटका बेला नागरिकमा भरोसा र आशा जगाएको विवरणमा उल्लेख छ
सेवा, सुरक्षा र मानवीय समर्पणलाई मूल भावका रूपमा आत्मसात् गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ ।











प्रतिक्रिया