काठमाडौँ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।
दसैँ बिदामा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ। सेवाग्राहीलाई उपचारमा असुविधा नहोस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा मौज्दात राख्नसमेत भनिएको छ।
मन्त्रालयका अनुसार बिदाको समयमा स्वास्थ्य सेवा प्रवाहमा देखिन सक्ने समस्या तथा सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। उक्त व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा पठाउन पनि निर्देशन दिइएको छ।
दसैँ बिदामा नागरिकले सहज रूपमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मन्त्रालयले निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, सेवा सञ्चालनको अवस्थाबारे नियमित अनुगमन गरी अत्यावश्यक उपचारमा कुनै अवरोध हुन नदिन पनि जोड दिएको छ।
चाडपर्वका समयमा हुन सक्ने दुर्घटना तथा अन्य आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालनको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो।











प्रतिक्रिया