काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
बडादसैँका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विभिन्न जातजातिका आ–आफ्नै परम्परा भए पनि दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको छ।
उहाँले बडादसैँले भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुर्याएको बताउनुभएको छ।
विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै राष्ट्रपति पौडेलले दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्वका रूपमा व्याख्या गर्नुभएको छ।
दसैँले पारिवारिक जमघट र पुनर्मिलनमार्फत खुसी तथा हार्दिकता साटासाट गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै उहाँले यसको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्त्व रहेको बताउनुभएको छ।
यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गर्नुभएको छ। उहाँले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्नसमेत अपिल गर्नुभएको छ।











प्रतिक्रिया