कांग्रेसको नयाँ केन्द्रीय समितिमा ३० चिकित्सक र १५ इन्जिनियर

गगन थापाको नेतृत्वमा पेशागत विज्ञको उल्लेख्य प्रतिनिधित्व, पदाधिकारीदेखि युवा समूहसम्म सहभागिता


काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ। नयाँ कार्यसमितिमा ३० जना चिकित्सक र १५ जना इन्जिनियर निर्वाचित भएका छन्।
पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा चिकित्सक, इन्जिनियर तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरू निर्वाचित हुनुले कांग्रेसको नेतृत्व तहमा पेशागत दक्षता र विषयगत ज्ञान भएका व्यक्तिहरूको सहभागिता बढेको देखाएको छ।

विशेष महाधिवेशनपछि विधान संशोधन गरी पेशागत क्षेत्रका व्यक्ति तथा विषयविज्ञलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने नीति लिएसँगै नयाँ कार्यसमितिमा उनीहरूको प्रतिनिधित्व बढेको हो। विषयगत समूहबाट मात्र नभई खुला प्रतिस्पर्धा र समावेशी समूहबाट समेत चिकित्सक तथा इन्जिनियरहरू निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) तथा मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। पदाधिकारी तहमा चिकित्सक र इन्जिनियरको उपस्थिति हुनुले पेशागत क्षेत्रका व्यक्तिहरूको राजनीतिक नेतृत्वमा सहभागिता बढेको संकेत गरेको छ।

खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने चिकित्सकमा प्रा.डा. गोविन्दराज पोखरेल, डा. शोभाकर पराजुली, डा. सुरज राज काफ्ले, डा. कृष्णप्रसाद पौडेल र डा. मुक्तिराम श्रेष्ठ छन्। इन्जिनियरतर्फ मोहन आचार्य, अमृत ज्ञवाली, नवराज त्रिपाठी, ऋषि कोइराला र दीपकबाबु कँडेल निर्वाचित भएका छन्।
समावेशी समूहअन्तर्गत पनि चिकित्सक तथा इन्जिनियरहरूको प्रतिनिधित्व उल्लेख्य छ। आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज लामा र डा. गंगालक्ष्मी अवाल निर्वाचित भएका छन्। दलित खुला केन्द्रीय सदस्यमा डा. डीबी सुनार निर्वाचित भएका छन्।

मधेशबाट खुला केन्द्रीय सदस्यमा डा. गरिव दास ठाकुर, डा. मधुकुमारी ठाकुर र डा. अञ्जनीकुमार झा निर्वाचित भएका छन्। खसआर्यतर्फ इन्जिनियर लक्ष्मण केसी र डा. भद्रा पराजुली भण्डारी केन्द्रीय सदस्य बनेका छन्। थारु समुदायबाट डा. भोगेन्द्रप्रसाद चौधरी, डा. जीवन राना र डा. प्रमिला कुमारी गच्छदार तथा मुस्लिम समुदायबाट डा. अताबुल मन्सुरी निर्वाचित भएका छन्।

प्रदेशगत तथा युवा समूहमा समेत चिकित्सक र इन्जिनियरहरूको उपस्थिति देखिएको छ। कोशी प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ डा. योशिका भट्टराई र इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित भएका छन्। बागमती प्रदेशको खुला केन्द्रीय सदस्यमा प्रा.डा. सूर्यकान्त घिमिरे र इन्जिनियर रोहित पौडेल निर्वाचित भएका छन्।

गण्डकी प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला समूहमा डा. कला पन्त तथा खुला युवा समूहमा इन्जिनियर सुवास पौडेल निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट ३५ वर्षमुनिका युवाको खुला समूहमा इन्जिनियर भुवनराज भट्ट निर्वाचित भएका छन्।
सातै प्रदेशबाट निर्वाचित हुने ३५ वर्षमुनिका खुला युवा केन्द्रीय सदस्यतर्फ इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भएका छन्।

नेपाली जनसम्पर्क समितितर्फ डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पेशागत तथा विषयगत क्षेत्रबाट डा. केदार नरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल र डा. प्रदीप मिश्र केन्द्रीय समितिमा पुगेका छन्।

पेशागत तथा विषयगत क्षेत्रको महिला सदस्यमा डा. सीता पोखरेल (घिमिरे) र डा. बाला अधिकारी निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाट महिला केन्द्रीय सदस्यमा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्।

कांग्रेसको नयाँ केन्द्रीय समितिमा चिकित्सक, इन्जिनियर तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थितिले पार्टीको नीति निर्माण र संगठनात्मक निर्णय प्रक्रियामा विषयगत ज्ञान उपयोग गर्ने अवसर प्रदान गर्न सक्छ। स्वास्थ्य, शिक्षा, पूर्वाधार, विज्ञान तथा प्रविधिजस्ता क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले सार्वजनिक नीति निर्माणमा प्राविधिक र व्यावसायिक दृष्टिकोण समेट्न सहयोग पुग्न सक्छ।

यद्यपि, विज्ञहरूको उपस्थिति संख्यामा मात्र सीमित नरही उनीहरूको ज्ञान र अनुभव पार्टीका नीति, कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयमा कत्तिको प्रभावकारी रूपमा उपयोग हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।

गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिमा पेशागत, समावेशी, प्रदेशगत र युवा समूहको प्रतिनिधित्व देखिनुले कांग्रेसको संगठनात्मक संरचनामा विविधता थपिएको छ। अब यस प्रतिनिधित्वलाई नीतिगत सुधार, संस्थागत क्षमता अभिवृद्धि र जनसरोकारका विषयमा परिणाममुखी काममा रूपान्तरण गर्नु नयाँ नेतृत्वको चुनौती हुनेछ।