चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट वृद्धि

एमबीबीएसमा ११० र बीएससी नर्सिङमा २१० सिट थप


काठमाडौँ ।

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले यस शैक्षिक सत्रका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गर्ने निर्णय गरेको हो। यो संख्या गत शैक्षिक सत्रको तुलनामा ४१८ ले बढी हो।

आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार सिट निर्धारणका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनका आधारमा ९० मध्ये ८४ वटा शिक्षण संस्थाका लागि यस वर्ष सिट निर्धारण गरिएको हो।

कार्यक्रमगत रूपमा एमबीबीएसतर्फ गत वर्षको तुलनामा ११० सिट वृद्धि गरिएको छ। यसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट प्राप्त गरेको छ। त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।

सदस्यसचिव निरौलाका अनुसार एमबीबीएसतर्फ बढाइएका सबै सिट सरकारी शैक्षिक संस्थाका हुन्। निजी मेडिकल कलेजका लागि भने यस वर्ष सिट वृद्धि गरिएको छैन।

एमबीबीएसबाहेक अन्य चिकित्सा शिक्षा कार्यक्रमहरूमा पनि सिट वृद्धि गरिएको आयोगले जनाएको छ। बीएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २१० सिट थप गरिएको छ भने बीएमएसतर्फ ९८ सिट वृद्धि गरिएको छ।

चिकित्सा शिक्षाका विभिन्न विधामा सिट वृद्धि गरिएसँगै स्वास्थ्य जनशक्ति उत्पादनको अवसर विस्तार हुने अपेक्षा गरिएको छ। यद्यपि, सिट वृद्धिसँगै शिक्षण संस्थामा आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, प्रयोगात्मक अभ्यास तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।